एमाले सचिव टोपबहादुर र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी

बैशाख २०, २०८०


वैशाख २०, नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी र उनका उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि एमाले सचिव रायमाझी र उनका छोरा सन्दीपलाई पक्राउ गर्न प्रहरीलाई पक्राउ पुर्जी दिएको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा मुछिएका रायमाझी र उनका छोरालाई अनुसन्धानका लागि पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ । यसअघि बुधबार काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका गृह मन्त्रालयका पूर्व सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका सचिव पाण्डेलाई प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरेको हो । सोमबार काठमाडौं प्रहरीले पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो । सुरक्षा सल्लाहकार हुँदा नै भुटानी शरणार्थीका नाममा नक्कली परिचयपत्र बनाउन शंकास्पद भूमिका देखिएपछि राई पक्राउ परेका हुन् ।