व्यवसायसँगै राजनीतिमा सक्रिय नविन राई कांग्रेस प्रदेश प्रतिनिधिको मैदानमा

१० घण्टा अगाडि


असाेज १२, नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर ३ (क) बाट युवा व्यवसायी नविन राईले प्रदेश प्रतिनिधि (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

राईले संगठनमा युवाको सहभागिता र सक्रियतालाई प्राथमिकतामा राख्दै प्रदेश प्रतिनिधिका रूपमा आफ्नो भूमिका अघि बढाउने बताएका छन् । व्यवसायिक क्षेत्रमा सक्रिय रहेका राईले राजनीतिक तथा सामाजिक गतिविधिमार्फत युवासँग जोडिँदै आएको उल्लेख गरेका छन् ।

उम्मेदवारी घोषणासँगै राईले पार्टी संगठनलाई थप प्रभावकारी बनाउने, युवा पुस्ताको सहभागिता बढाउने तथा स्थानीयस्तरका सवाललाई पार्टीको नीति र नेतृत्वसँग जोड्ने विषयलाई प्राथमिकतामा राखेको बताएका छन् ।

उनको प्रचार सामग्रीमा ‘उत्साह, एकता र रूपान्तरण’ लाई मुख्य सन्देशका रूपमा प्रस्तुत गरिएको छ। राईले महाधिवेशनमार्फत कांग्रेस संगठनलाई थप सुदृढ बनाउन आफूले भूमिका निर्वाह गर्ने बताएका छन् ।