दयाहाङकाे बक्स अफिसमा सानदार पुनरागमन, लगातार दुई फिल्म सुपरहिट
नेपाली फिल्म उद्योगमा ‘कबड्डी’ काजीको नामले परिचित अभिनेता दयाहाङ राईले बक्स अफिसमा सानदार पुनरागमन गरेका छन्। पछिल्लो तीन वर्ष १० वटा लगातार फ्लपको पीडाबाट गुज्रिएका उनले यस वर्ष डेढ महिनाको अन्तरालमा लगातार दुई सुपरहिट फिल्म दिएका छन्।
पेन्सन पट्टादेखि कबड्डी ५ सम्मको यात्रा
यस वर्षको सुरुवात दयाहाङका लागि सुखद रह्यो । गत भदौ २६ गते रिलिज भएको फिल्म ‘पेन्सन पट्टा’ ले दर्शकको मन जित्दै १० करोडभन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भयो । त्यस सफलताको ग्राफलाई दोब्बर बनाउँदै दसैंको अवसर पारेर कात्तिक ६ गते रिलिज भएको ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले बक्स अफिसमा सुनामी ल्याएको छ । वितरकका अनुसार फिल्मले प्रदर्शनको १० दिनमै १० करोड ५० लाख रुपैयाँको आँकडा पार गरेको छ। यो सालमा सबैभन्दा छिटो १० करोड कमाउने नेपाली फिल्म बनेको छ । ट्रेड एनालिस्टका अनुसार फिल्मको दोस्रो साताको अकुपेन्सी हेर्दा १५ करोड क्लबमा प्रवेश लगभग निश्चित छ।
१० फ्लपको भारी विसाए दयाहाङले
यो सफलता दयाहाङका लागि ठूलो राहत हो । २०८० देखि २०८२ को बीचमा उनी अभिनीत ‘रिमै’, ‘राजागन्ज’, ‘दुःखी आत्मा’, ‘कार्साङ’, ‘पिताम्बर’, ‘भूठान’, ‘महाभोज’, ‘वरिष्ठ बलराम’, ‘मिरमिरे’ र ‘मितज्यू’ जस्ता फिल्मले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेका थिएनन्। जसका कारण उनको स्टारडम ओरालो लागेको टिप्पणी समेत भएको थियो । तर ‘पेन्सन पट्टा’ र ‘कबड्डी ५’ को ऐतिहासिक सफलताले उनको करिअरलाई सञ्जीवनी दिएको छ ।
पहिलो अभिनेताको कीर्तिमान
लगातार दुई फिल्मलाई १० करोड क्लबमा पुर्याएसँगै दयाहाङ यस वर्षको पहिलो अभिनेता बनेका छन् जसले एकै वर्षमा यो कीर्तिमान बनाएका छन् । सामाजिक सञ्जालमा उनका शुभचिन्तकले उनलाई ‘बक्स अफिसका महानायक’ को उपाधि दिन थालेका छन् । यद्यपि दयाहाङ आफै भने यस्तो उपाधिलाई भारी मान्छन् । उनले भने, “यो मेरो लागि भारी हुन्छ। फिल्म भनेको कहिले चल्छ, कहिले चल्दैन । मेरा धेरै फिल्म चलेका पनि छन् र धेरै असफल पनि भएका छन् । दर्शकले माया गरिदिनुभएकोमा आभारी छु।”







