अनलाइन कक्षा कति सान्दर्भिक ? ( सम्पादकीय )

बैशाख १६, २०७७


लकडाउनका कारण स्कुल, क्याम्पस लगायतका सबै शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द छन् । पठनपाठनका साथै परीक्षा समेत प्रभावित बनेका छन् । खुल्ने कुनै पत्तो नभएपछि वैकल्पिक शिक्षण पद्धतिहरुको खोजी हुन थालेको छ । विद्यालयदेखि उच्चशिक्षाको पठनपाठनमा अनलाइन कक्षालाई विकल्पको रुपमा लिन थालिएको छ । कोरोना भाईरसको जोखिमका कारण विद्यालय तथा क्याम्पसहरु खुल्न नसकिरहेको यो स्थितीमा सरकारले भने अनलाइन कक्षालाई प्रभावकारी बनाउनतर्फ गृहकार्य गरिरहेको छ । सरकार मात्रै नभएर विभिन्न निजी विद्यालय तथा क्याम्पसहरु यसको अभ्यासमा समेत लागेका छन् । सामुदायिक विद्यालयका विद्यार्थीलाई समेत अनलाइन पद्धतिबाट अध्यापन गराउने पूर्वतयारीको काम भइरहेको छ ।
नेपालको परिप्रक्ष्यमा अनलाइन कक्षा कतिको सान्दर्भिक होला यसको लेखाजोखा भने हुन सकेको छैन । शिक्षा प्रणालीको विकासका लागि नयाँ शैलीमा जाने ठुलो अवसर भएतापनि यसले सबैलाई समेट्न भने पक्कै सक्नेछैन । नेपाल जस्तो विकासोन्मुख देशमा अनलाईन कक्षाबारे बहस हुनु र अनलाईन कक्षामा भर पर्ने कुरा अलि सान्दर्भिक नहोला ।
निजी शिक्षण संस्थाहरु यसवेला आफुलाई अव्वल सावित गर्न र प्रतिस्पर्धामा आफुअगाडि रहनको लागि पनि अनलाइन कक्षा चलाउने दौडमा लागिरहेका छन् । अन्य विद्यालय तथा कलेजको तुलनामा आफुलाई अग्रपङ्तीमा राख्नका लागि पूर्व तयारी र पूर्ण तयारीबिनै निजी शिक्षण संस्था अनलाइन कक्षा सुरु गर्न तँछाड मछाड गरिरहेका छन् । यसरी प्रतिस्पर्धामा जादा अनलाईन कक्षा संचालन गर्ने विद्यालयले आफ्नो विद्यार्थीको वास्तविक अवस्था पनि वुुझ्न जरुरी देखिन्छ । अनलाईन कक्षा साच्चिकै पढाउनको लागि हो कि देखाउनको लागि पहुुँचविहिन विद्यार्थीमा प्रश्न उव्जेको छ । घरघरमा कम्प्युटर छ कि छैन,नेटको उपलव्धता छ कि छैन, भन्ने लगायत यावद कुराहरुलाई मध्यनजर गर्नु महत्पूर्ण हुन्छ । पूर्वाधारको विकास तथा पूर्ण तयारी बिनानै अनलाईन कक्षा संचालन गर्ने भन्ने कुरा दई चार दिनको रमाईलो मात्रै हो भन्दा फरक नपर्ला । अनलाईन कक्षा सम्पन्न परिवारमा जन्मिएकाहरुको लागि मात्रै हो कि विपन्न परिवारका छोराछोरीहरुको लागि पनि हो ? यदि विपन्न वर्गका लागि पनि अनलाईन कक्षा हो भने त्यस्ता विद्यार्थीलाई अनलाईन कक्षा संचालन गरिरहेका विद्यालय वा कलेजले कसरी समेट्छन् ? दुरदराजमा रहेको एउटा विद्यार्थी जसको घरमा खानलाउनै समस्या छ, राहतको भरमा छाक टार्ने विद्यार्थी अनलाईन कक्षामा कसरी सहभागी हुन सक्छ ? के उसलाईन अनलाईनबाट शिक्षा लिने अधिकार छैन । सम्पन्न परिवारका विद्यार्थीले अनलाईनको माध्यमबाट पढ्दै गर्दा उसको पढाईको भोकलाई कसरी मेटाउने ? यो बारे अनलाईन कक्षा संचालन गरिरहेका विद्यालयले सोच्न जरुरी देखिन्छ । समाजमा अनलाईन कक्षा चलाएकै भरमा शिर ठुलो पार्दै हिड्ने विद्यालयका संचालकहरुले नेपालको संविधानले ग्यारेन्टि गरेको मौलिक हकअन्तर्गत शिक्षा सम्वन्धिको हक जसले प्रत्येक नागरिकलाई अनिवार्य शिक्षाको व्यवस्था गरेको छ भन्ने कुरालाई व्यवास्ता त गरेका छैनन् ।
नेपालमा तथ्याङ्किय हिसावले सायुदायिक विद्यालयको कुरा गर्दा देशभर कम्प्युटर पुगेका सामुदायिक विद्यालयको संख्या १२ प्रतिशत मात्रै छ । इन्टरनेट सुविधा भएका विद्यालयहरु १३ प्रतिशत छन् । बिजुलीको सुविधा भएका विद्यालय ३५ प्रतिशत छ भने १० हजार सामुदायिक विद्यालयमा कम्प्युटरको व्यवस्था छ । यस्तो अवस्थामा सामुदायिक विद्यालयले आफ्ना विद्यार्थीको लागि कसरी अनलाईन कक्षा संचालन गर्न सक्छन् ? विद्यालयमा वर्षमा २ सय २० दिन विद्यालयमा पठनपाठन हुनुपर्ने मान्यता छ । यदि लकडाउन छिट्टै खुल्ने अवस्था आए रोकिएको पढाइलाई अन्य विदाहरुको मिलान गरी व्यवस्थापन गर्न सकिन्छ ।

यस्तो अवस्थामा निजी विद्यालयमा पढ्ने सम्पन्न परीवारको विद्यार्थीलाई मात्रै समेटेर अनलाईन कक्षा संचालन गर्नु कतिको जायज हुन्छ ? सबैले यो कुरालाई मनन गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ । एउटै विद्यालयमा कसैले शिक्षा पाउने त कसैले नपाउने भन्ने कुराले समानताको अर्थलाई पनि बोध नगरेको जस्तो देखिन्छ ।