चलचित्र क्षेत्रमा उकुसमुकुस : फिल्म सुटिङ अनिश्चित

असार १०, २०७७


कोरोना भाइरस (कोभिड –१९)को त्रास संसारभर दिन प्रतिदिन बढ्दो छ । विश्वमै महामारीको रुपमा फैलिएको यो भाइरसले नेपालका पनि ७६ जिल्लामा असर गरिसकेको छ ।

कोरोनाभाइरस नेपालमा गत चैत्रबाट देखिएको थियो । नेपालका कोरोना देखिनुपूर्व नै संक्रमण रोकथामका लागि सरकारले गत फागुनबाटै विभिन्न मेला, महोत्सव, पार्टी, चलचित्र घरलगायत भीडभाड हुने कार्यक्रम नगर्न, नगराउन निर्देशन समेत जारी गरेको थियो ।

सरकारको यो निर्देशनले फिल्म प्रदर्शनमा पूर्ण असर गरे पनि छायाँकन, सम्पादन लगायतका केही गतिबिधि भने सुस्त गतिमा चल्दै थियो ।

सरकारले गत चैत ११ देखि देशभर पूर्ण रुपमा लकडाउन गरेसँगै फिल्म क्षेत्रका छायाँकनदेखि रिलिजसम्म सबै गतिविधि ठप्प भए । जसका कारण फिल्म क्षेत्रले ठूलो घाटा व्यहोर्नु परेको छ ।

कोरोनाको कहरबाट सिर्जित अवस्थाको शिकार निर्माता, चलचित्र घर संचालकलाई मात्र नभएर यसक्षेत्रका सबैमा पर्यो । यहाँसम्मकि फिल्म क्षेत्रमा आवद्ध धेरै जना बेरोजगारसमेत बने । 

सरकारले १ असारदेखि लकडाउन केही खुकुलो बनाउदै  कतिपय ब्यवसाय संचालनका लागि अनुमति दिएको छ । सरकारले पहिलो चरणमा संचालनमा ल्याएको ब्यवसायमा फिल्म क्षेत्र भने पर्न सकेन ।

सरकारको पहिलो प्रथामिकतामा नपरेको कारण अहिले नै फिल्म क्षेत्रका सबै गतिविधि सञ्चालन हुने अवस्था छैन । तर, पनि फिल्मकर्मी भने जुर्मुराउन थालेका छन् । सरकारले सञ्चालनमा ल्याएका अन्य ब्यवसाय जस्तै यो पनि सुचारु हुनुपर्ने माग गर्दै उनीहरु बिस्तारै काममा फर्किन थालेका छन् ।

फिल्म सुटिङ अनिश्चित 
लकडाउन केही खुकुलो भएसँगै म्युजिक भिडियो, छोटा फिल्म र विज्ञापन चलचित्रको काम सुरु भए पनि ठुलापर्दाको चलचित्रका काम भने सुचारु हुन सकेको छैन । नयाँ त परै जाओस्, लकडाउनले रोकिएका ‘ए मेरो हजुर ३’, ‘परदेशी २,’ ‘२ नम्बरी’लगायत फिल्मको समेत सुटिङ सुरु हुन सकेको छैन ।

‘लकडाउन खुलिहाले पनि चलचित्रको छायाँकन सुरु गरिहाल्ने अवस्था नभएको चलचित्र ‘२ नम्बरी’का निर्देशक दीपेन्द्र लामाले बताए । 

‘अहिले म्युजिक भिडियो, छोटा चलचित्रको सुटिङ हुन थालेका छन् । त्यो सम्भव पनि छ । त्यसका लागि ८÷१० जनाको युनिटले पुग्छ,’ निर्देशक लामाले भने, ‘चलचित्रको सुटिङ भने अहिले सम्भव छैन । किनभने यसका लागि कम्तीमा पनि ५०/६० जनाले काम गर्नुपर्छ ।’

फिल्म विभिन्न लोकेशनमा र अर्काको घरमा गएर गर्नुपर्ने भएकोले अहिले सुटिङ सम्भव नभएको लामाको भनाइ छ ।
‘अहिले पनि कोरोनाको त्रास कायमै छ । एक अर्कालाई देखेर डराउने अवस्थामा काम कसरी गर्न सकिन्छ र ?,’ लामाले थपे, ‘लकडाउन पुरै खोले पनि एक÷दुई महिना अझै कुर्नैपर्ने हुन्छ ।’

निर्देशक लामाको जस्तै विचार निर्देशक मोहन निरौलाको  पनि छ । म्युजिक भिडियो छायाँकन गरिरहेका निरौला फिल्म छायाँकन गर्ने माहोल भने अहिले नभएको बताउँछन् । 
निर्देशक मिलन चाम्स अहिले फिल्म छायाँकनका लागि लोकेसन हेर्न उपत्यका बाहिर छन् । केही समयपछि नयाँ फिल्मको काम सुरु गर्ने उद्देश्यले उनी लोकेसन हन्टिङमा काठमाडौँबाट बाहिर निस्किएका हुन् । उनी पनि तत्कालै फिल्म सुटिङमा निस्कने वातावरण नभएको बताउँछन् ।

‘नेपाली चलचित्र क्षेत्रको आत्मबल बढाउने उद्देश्यले सुरक्षा सावधानी अपनाएर छिट्टै काममा फर्किने सोच मैले बनाएको छु,’ चाम्सले भने, ‘अहिलेको अवस्थामा कोही न कोहीले कामको सुरुवात नगरे फिल्मको काम सुरु हुनै सक्दैन ।’ अहिले तयारी गरिरहेको फिल्मको एक महिनापछि छायाँकन सुरु गर्ने उनले सुनाए ।