वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतीले जिते कोरोना!

भदौ १४, २०७७


काठमाडौं । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् ।

हाल अमेरिकामा रहेका गायक महतले गत अगस्त ७ मा आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूतसमेत रहेका महतले कोरोनाबाट मुक्त भएको जानकारी फेसबुकमार्फत नै दिएका छन् ।

महतले इष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले आफूहरुलाई हिम्मत दिएको बताउँदै त्यसले कोरोनालाई परास्त गर्ने सफलता मिलेको बताएका छन् । महतले आफूहरु संक्रमित भएको सार्वजनिक गरेपछि विश्वभरबाट नेपालीहरुले उनको स्वास्थ्य लाभको कामना गरेका थिए ।

संक्रमणमुक्त भएपछि महतले कोरोनालाई सानो रोग नमान्न तथा ठूलो हो भनेर नडराउन पनि आग्रह गरेका छन् । उनले डाक्टर, नर्स अनि डब्लूएचओले दिएका सरसल्लाह, नियमलाई पूर्णरुपमा पालना गर्न समेत सबैलाई आग्रह गरेका छन् । साथै कोरोना संक्रमण मुक्त भएको व्यक्ति पहिलेझै सामान्य हुने बताउँदै संक्रमणमुक्त भएका व्यक्तिसंग डराउनु नपर्ने उल्लेख गरेका छन् ।

कोरोना संक्रमणपछि महत दम्पत्ति आफ्नै घरमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका थिए ।