नवलपरासी र कपिलवस्तुका २ संक्रमितको बुटवलमा मृत्यु

असोज ०८, २०७७


असोज ८, बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए । गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो ।

उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए । यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए, उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।

चितवनमा पनि एक जनाको मृत्यु

यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ ।तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो । डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना संक्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो ।