निश्चल र स्वस्तिमाको ‘चट्ट रुमाल’ले किन गरेन कमाल ?

कार्तिक १६, २०७७


कलाकार तथा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको जोडीले चलचित्र र म्यूजिक भिडियोमा काम गरिरहेका छन् । यो जोडीले एकसाथ काम गरेको चलचित्र ‘घामड शेरे’ नचलेपछि दुबैलाई करिअरमा धक्का लाग्यो । तर, अब फेरि निश्चलको निर्देशनमा बन्न लागेको चलचित्रमा स्वस्तिमाले काम गर्ने चर्चा भने चलिरहेको छ । निश्चल र स्वस्तिमाले अभिनय गरेको ‘नाँच फिरिरी’ बोलको गीत सर्वाधिक हिट भयो । अडियो नै उत्कृष्ट रहेको यो गीतको भिडियो पनि लोभलाग्दो बनेको थियो ।

यो गीतको भिडियोलाई ६ करोड ४१ लाख भन्दा बढी पटक हेरिएको छ । गीत सार्वजनिक भएपछि चुलिएको यसको लोकप्रियता २ बर्ष भन्दा बढी समय भैसक्दा पनि उस्तै छ । चलचित्र ‘२ रुपैयाँ’ मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतमा पनि निश्चल र स्वस्तिमा देखिएका छन् । यो गीतको लोकप्रियता गज्जबको छ । स्वस्तिमालाई दर्शकले रुचाएको पनि यही गीत पछि नै हो ।उनै, निश्चल र स्वस्तिमाले अभिनय गरेको नयाँ गीत ‘चट्ट रुमाल’ केही दिन अगाडि सार्वजनिक भयो ।

निश्चल बस्नेत र मुस्कान रानाभाटको स्वर रहेको यो गीतको भिडियोलाई सार्वजनिक भएको ६ दिनमा ३ लाख ६१ हजार पटक हेरिएको छ । गीतले, दर्शकहरुमाझ कुनै कमाल गर्न सकेन । गीतको अडियो कमजोर रहेकाले पनि दर्शकको मुखमा झुन्डिन यो गीत नसकेको हो । भिडियोमा निश्चल र स्वस्तिमाको जोडीलाई रोमान्टिक अवतारमा देखाइएको छ । तर, दर्शकले यो गीतलाई भने ‘नाँच फिरिरी’ जस्तो मन पराएनन् ।