शुक्रवारबाट ‘आमा’ र ‘सेन्टी भाइरस’ रि-रिलिज हुँदै

पुष ०८, २०७७


लकडाउनभन्दा अगावैदेखि बन्द रहेका सिनेमा हल यही पुष १० गते शुक्रवारबाट सञ्चालनमा आउँदैछन् । सरकारले सिनेमा हल खोल्ने विषयमा कुनै निर्णय नगरे पनि हल व्यवसायीहरु शुक्रवारबाट सिनेमा हल खोल्ने तयारीमा जुटेका छन् । सरकारले फिल्म क्षेत्रलाई वेवास्था गरेको भन्दै गएको हप्ता नेपाल चलचित्र संघले पुष १० गतेबाट सिनेमा हल खोल्ने स्वःघोषणा गरेको थियो ।

सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे गिरफ्तारी दिन तयार रहेको हल व्यवसायीले बताएका छन् । अहिले हल सञ्चालकहरु १० महिनादेखि बन्द रहेको सिनेमा हलको सरसफाइमा जुटेका छन् । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिनेमा हल खोल्न लागिएको हो । हल सञ्चालकले ५० प्रतिशत दर्शक राखेर सिनेमा हल चलाउँदैछन् ।

तत्काल सिनेमा घरमा दर्शकको चाप नहुने भएका कारण हलमा प्रदर्शन भइसकेका फिल्म पुनः चलाइँदैछ । प्रदर्शनको क्रममा रोकिएका दुई नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ शुक्रवारबाट पुनः प्रदर्शन गर्ने तयारी भएको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताएका छन् । मल्टीप्लेक्समा भने यी दुई नेपाली फिल्मसँगै हलिउड फिल्म ‘मुलान’ र ‘ब्लडसट’ प्रदर्शन हुँदैछन् ।

समीक्षात्मक र व्यवसायिक दुवै रुपमा सफल ठहरिएको ‘आमा’ लाई दीपेन्द्र के। खनालले निर्देशन गरेका हुन् । फिल्ममा सुरक्षा पन्त र मिथिला शर्माको मुख्य भूमिका छ । फिल्म पुनः प्रदर्शन हुने भएपछि निर्माण टिम उत्साहित देखिएको छ । त्यस्तै, रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ मा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, सन्दिप क्षेत्रीलगायतको अभिनय छ ।