राजेश हमाल सुपरस्टार मात्र होइनन्, भावना पनि हुन ?

भदौ १७, २०७८


राजेश हमालले नेपाली फिल्ममा पाइला टेक्दा संख्यात्मक रुपमा एक दर्जन फिल्म पनि बनेका थिएनन् । फिल्म ‘युगदेखि युगसम्म’ बाट डेब्यू गर्दैगर्दा उनलाई दोस्रो फिल्म कहाँबाट आउँछ भन्नेसम्म थाहा थिएन । उनले अँध्यारो कुवामा हामफालेका थिए । दुई वर्षको पखाईपछि उनले दोस्रो फिल्म पाए, ‘देउता’ । यो फिल्मपछि त उनले करीब दुई दशक फुर्सदको सास पनि फेर्न पाएनन् ।

नेपाली दर्शकले ‘स्टार’ मानेको पहिलो नायक नै राजेश हमाल हुन् । उनको फिल्म हेरेर एउटा सिंगो पुस्ता नै हुर्कियो । पर्दामा उनले निर्वाह गरेको भूमिकामा दर्शकले आफूलाई भेट्थे । आफ्नो दबिएको आवाज बुलन्द गरेको महशुस गर्थे । त्यसबेला उनको यस्तोसम्म क्रेज थियो कि पोस्टरमा राजेश हमालको पासपोर्ट साइजको फोटो राख्दा समेत सिनेमा हलमा दर्शक थेग्न गाह्रो हुन्थ्यो ।

वर्षमा एउटा फिल्म पनि मुश्किलले बन्ने क्षेत्रमा उनको आगमनपछि फिल्म निर्माणमा बाढी आएको थियो । उनी नै दिनमा १६ र १७ घन्टासम्म व्यस्त बनेका थिए । आफ्नो राम्रो माग हुँदा उनले पनि आँखा चिम्लिएर फिल्म गरे । त्यसबेला उनले फिल्मको कथावस्तु र आफ्नो भूमिका समेत सुन्ने नगरेको बताइन्छ । यसकारण पनि उनको सम्झलायक फिल्म नै छैन भनेर टिप्पणी हुँदै आएको छ ।

राजेश हमालको लोकप्रियता ‘क्यास’ गर्न उनको नाममा फिल्म समेत बनेको छ । सन् २०११ मा ‘मेरो राजेश दाइ’ नाममा फिल्म बनेको थियो । यसमा उनी स्वयं मुख्य भूमिकामा थिए । तर, यो फिल्म बक्सअफिसमा खासै चलेन । यसको दश वर्षपछि फेरि राजेश हमालको नाममा फिल्म बन्दैछ, ‘म राजेश हमाल’ । मंगलवार एक कार्यक्रमका बीच फिल्मको औपचारिक घोषणा गरियो ।

भदौ २० गतेबाट छायांकन सुरु हुन लागेको यो फिल्म राजेश हमालको जीवनीमा आधारित भएर बन्न लागेको भने होइन । राजेश हमालको फिल्म हेरेर प्रभावित भएका फ्यानको कथा फिल्मले वाचन गर्ने निर्देशक जोन योञ्जनले बताए । उनले भने, ‘यो फिल्म राजेश हमालका लागि ट्रिब्यूट हो । हामी कहिँ न कहिँ राजेश हमालको फ्यान छौं । त्यही इमोसनमा फिल्म बनाउन लागेका हौं ।

फिल्मको टाइटलभन्दा कथावस्तु विल्कुलै फरक रहेको उनको भनाई छ । उनले अगाडि भने, ‘झट्टा नाम सुन्दा राजेश हमालको जीवनीमा फिल्म आधारित होला भन्ने धेरैलाई लाग्न सक्छ । तर, कथावस्तु विल्कुलै फरक छ । फिल्मले आम मानिसको राजेश हमालसँग जोडिएको भावनाको कथा भन्नेछ । उनले राजेश हमालको उपस्थिति विना यो फिल्म अधुरो र अपुरो हुने पनि बताए ।

निर्माण टिमले अतिथी भूमिकाका लागि राजेश हमाल स्वयंलाई अफर गरेको छ । उनले स्क्रिप्ट सुनेर आफ्नो नाममा फिल्म बनाउन अनुमति दिए पनि अभिनय गर्ने वा नगर्ने भन्ने विषयमा निधो दिइसकेका छैनन् । निर्माता केदार भुषालले फिल्ममा राजेश हमालको कुनै न कुनै रुपमा उपस्थिति रहने जानकारी दिए । फिल्म ‘सत्यम्’ का कारण उनले यो फिल्ममा काम गर्ने सम्भावना न्यून छ ।

‘राजेश हमाल सुपरस्टार मात्र होइन, भावना पनि हो’ भन्ने ट्यागलाइनमा केन्द्रित भएर फिल्म बन्न लागेको निर्माता भुषालले बताए । उनले भने, ‘फिल्ममा निर्वाह गरेको चरित्रका कारण धेरैको उहाँसँग भावना जोडिएको छ । उहाँलाई दुःखको साथी भन्ने गरिन्थ्यो । उहाँ मानिससँग स्टारको रुपमा मात्र नभइ भावनात्मकको रुपमा पनि जोडिनु भएको थियो । यही कुराबाट फिल्म इन्स्पायर्ड छ ।

फिल्ममा अभिनेत्री सञ्चिता लुइँटेल मुख्य भूमिका देखिँदैछिन् । उनी यो फिल्मबाट अफर आउँदा आफूले सोचेको कुरा स्क्रिप्ट सुनेपछि फरक पाएको बताइन् । उनले भनिन्, ‘यो फिल्मबाट अफर आउँदा ‘अर्जुन’ फिल्ममा मैले राजेश हमालको अपोजिटमा काम गरेकाले त्यही फिल्मको गीतलाई केही गर्न खोजेको होला जस्तो लागेको थियो । तर, जब स्क्रिप्ट सुनेँ एकदमै फरक पाएँ ।

त्यस्तै, फिल्ममा मुख्य भूमिकामा अभिनय गर्न लागेका अभिनेता मुकुन भुषालले क्यारेक्टरको लोभका कारण ‘म राजेश हमाल’ मा आबद्ध भएको बताए । फिल्ममा महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछानेको पनि अभिनय रहनेछ भने अभिनेता आर्यन सिग्देल अतिथी भूमिकामा देखिँदैछन् । अलोक शुक्लाले खिच्ने फिल्मलाई भीम विश्वकर्माले सम्पादन गर्नेछन् ।

वर्ड पिक्चर, जोया पपया र ढाकाटोपी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा अनुज हमाल कार्यकारी निर्मातामा रहेका छन् । जोन योञ्जनकै कथा रहेको फिल्मको स्क्रिनप्ले जोन र सायद कार्कीले मिलेर तयार पारेका हुन् । एक महिनाको सेड्युलमा फिल्मको छायांकन धनगडीमा हुनेछ । सर्लाही रैनाथे निर्देशक योञ्जनले यसअघि फिल्म ‘बाह्र सत्ताइस’ को निर्देशन गरेका थिए ।