दिमाग खराब: वैकल्पिक राजनीतिको वकालतमा ‘निश्चल’ प्रयास

कार्तिक २५, २०८०     नबिन काजि राई


पछिल्लो समय बहस भइरहेको वैकल्पिक राजनीतिलाई केन्द्रमा राखेर बनाइएको ‘दिमाग खराब’ लिएर ६ वर्षपछि निश्चल बस्नेतले निर्देशकीय कमब्याक गरेका छन् । भुईंमान्छेले राज्यसत्ताविरुद्ध गर्ने संघर्ष ‘दिमाग खराब’को केन्द्रीय विषय हो ।

फिल्मको केन्द्रीय मुद्दाले भन्छ, यो व्यवस्था पहुँचविहीनहरुका लागि होइन । हो त केवल दलाल, तस्कर र भ्रष्टाचारीहरुका लागि । जबसम्म भुईंमान्छेले विद्रोह गर्दैनन्, यो व्यवस्थामा उनीहरु सत्ताधारीका पैतालामा किचिएरै मर्न विवश हुन्छन् । उनीहरुले फेर्ने स्वास र मुखमा हाल्ने गाँस पनि आफ्नो नियन्त्रणमा छैन । उनीहरुको हाँसो, खुशी र सपना राजनीतिको खोल ओढ्नेहरुको पिंजडाभित्र कैद छ ।

र, यसपटक बस्नेत ‘दिमाग खराब’मार्फत् प्रस्ट रुपमा वैकल्पिक राजनीतिको पक्षपोषणमा उभिएका छन् । तर, वैकल्पिक राजनीतिको औचित्य, गन्तव्य र भविष्यमाथि बहस छेड्न भने फिल्म चुकेको छ ।

०००

‘दिमाग खराब’मा एक सामान्य नागरिक छ, जसको सपना ठूलो छैन । एक श्रीमती, बिरामी आमा र सानी छोरी छे । उनीहरुको जीवनलाई सहज बनाउनु नै दिमाग खराबको प्रमुख पात्र इन्द्र शर्मा (खगेन्द्र लामिछाने)को मूल उद्देश्य हो । ऊ विदेश गएर सबै समस्याहरुको समाधान गर्न चाहन्छ ।

तर, एयरपोर्टमा पुगेपछि भिजिट भिसामात्रै भएका कारण ऊ विदेश जानबाट रोकिन्छ । यहीबाट मूल पात्र इन्द्रको संघर्षको कथा सुरु हुन्छ । गाउँ फर्किएपछि उसले पुनः विदेश जाने प्रयत्न गर्दा आउने उल्झन र अप्ठेराहरुका कारण कसरी ऊ राजनीतिमा आउन बाध्य हुन्छ, ‘दिमाग खराब’ ले भन्छ ।

इन्द्रकै नगरपालिकाको मेयर हरिप्रसाद (अर्पण थापा) संलग्न मेनपावरले फ्री भिसा फ्री टिकटको नाममा ठगेको पत्तो पाएपछि भिसाका लागि मेयर गुहारिरहेका, मेयरलाई सय भोट खोजिदिएर विदेश जाने सपना देखिरहेका इन्द्र विद्रोहमा उत्रिन्छन् । मेयरलाई सार्वजनिक कार्यक्रममै चड्कन लगाउँछन् । यहीबाट इन्द्रको विदेश जाने सपना गुमराहमा जान थाल्छ ।

माफी माग्ने कार्यक्रममै आफू मेयर हरिप्रसादविरुद्ध चुनाव लड्ने घोषणा गर्छन् इन्द्र । श्रीमती इन्द्रलाई छोडेर माइती जान्छे, घर जल्छ । अनेक उल्झन सृजना हुन्छन् । इन्द्रलाई मेयरको उम्मेदवारीबाट बाहिरै राख्न हरिप्रसादले अनेक तिकडम गर्छन् । समस्यासँग जुध्दाजुध्दै इन्द्र राजनीतिको ठूलो भूमरीमा परिसकेका हुन्छन् । यी तमाम समस्यालाई जितेर इन्द्र अगाडि बढ्न सक्छन् कि सक्दैनन् ? ‘दिमाग खराब’ हेर्नैपर्ने हुन्छ ।

०००

‘दिमाग खराब’ले नेपाली समाज र राजनीतिको पछिल्लो रुझानलाई टपक्कै टिपेको छ । गत स्थानीय चुनावमा धरानमा हर्क साम्पाङ र काठमाडौंमा बालेन्द्र शाहले स्वतन्त्र उम्मेदवारी दिएर हासिल गरेको तहल्कापूर्ण विजयबाट चलचित्रको कथा प्रेरित देखिन्छ । ‘दिमाग खराब’ नामले विषयवस्तुको सघनतालाई कुनै न्याय गर्दैन । योभन्दा स्तरीय र कलात्मक नाम खोज्न सकिन्थ्यो ।

राजनीतिलाई विषयवस्तु बनाइएको ‘छक्कापञ्जा ४’ र ‘नांगो गाउँ’ केही समयअघि प्रदर्शनमा आए । यी दुवै फिल्मले पछिल्लो समय टड्कारो बहसमा रहेको वैकल्पिक राजनीतिलाई चुस्सचुस्स छोएका छन् । त्यसैले यो नेपाली चलचित्रका लागि विल्कुलै नयाँ विषयवस्तु भने होइन ।

वैकल्पिक राजनीतिलाई ग्लोरिफाइ गर्न खोजिएको भए पनि यसमा पूर्णता छैन । स्वतन्त्र उम्मेदवारसँग मेयरमा निर्वाचित भए भ्रष्टाचारका फाइल खोल्नेबाहेक अर्को भिजन देखिँदैन । यतिमात्रै वैकल्पिक राजनीतिको बाटो हो त ?

एउटा मुलुक समृद्ध हुन आर्थिकसँगै सामाजिक, सांस्कृतिक पाटो पनि उत्तिकै समृद्ध हुनुपर्छ । तर, ‘दिमाग खराब’ ले बालेन्द्र र हर्कलाई मात्रै वैकल्पिक राजनीतिका आधारस्तम्भ मानेको छ । वैकल्पिक राजनीति यतिमात्रै हुन सक्दैन भनेर ‘दिमाग खराब’ ले भन्न सक्नुपर्थ्यो ।

मेयरद्वय शाह र साम्पाङ होऊन् या रवि लामिछाने र रास्वपा पार्टी । यिनीहरुको उदयलाई जनतामा आएको राजनीतिक निराशाको नतिजा भनेर राजनीतिक विश्लेषकहरुले विश्लेषण गरिरहेका छन् । तर, वैकल्पिक राजनीति वा स्वतन्त्र मेयरहरुले नेपाली राजनीतिमा एक खालको लहर ल्याएका छन् । यही लहरमा फिल्म मेकरहरुको पनि आँखा परिरहेको छ ।

संसारभरि नै व्यवसायिक फिल्मका लागि ‘पपुलिस्ट कन्टेन्ट’ जहिल्यै खुराक बन्ने गर्छ । चाहे राजनीति होस् या गुन्डागर्दी वा अपराध कथा, व्यवसायिक फिल्म मेकरहरुले कुनै पनि कन्टेन्टलाई छाडेका छैनन् । यस्ता विषयमाथि फिल्म बनाउन मेकरहरु तम्सिनुको पछाडि केही कारण छन् ।

पहिलो कारण हो, विषयवस्तुबारे दर्शकलाई जानकारी दिइरहनु परेन । दोस्रो, थोरै मरमसला थपेर यस्ता फिल्म बनाउँदा मुनाफाको सम्भावना बढी भएर जान्छ । निर्माताको लगानी जाकिने जोखिम कम हुन्छ । ‘दिमाग खराब’ पनि कतै यही मनोविज्ञानबाट प्रेरित भएर बनाइएको होइन भन्न सकिँदैन ।

०००

‘दिमाग खराब’मा आउने ट्विस्टहरु प्रभावकारी छन् । हरेक घटनामा आउने समस्या र त्यो समस्याको समाधान हुँदा नहुँदै आइपर्ने अर्को सरप्राइज समस्याले दर्शकलाई एकाग्रतामा राख्छ । समस्या सल्टाउन पात्रहरुले गर्ने संघर्षले पनि दर्शकलाई रोकिराख्न सक्षम छ फिल्म ।

फिल्मको संरचनामा ‘दिमाग खराब’ ले चलाखी गरेको प्रस्टै महसुस हुन्छ । चाहे इन्द्रले मेयरको उम्मेदवारी घोषणा गर्दा होस् या इन्द्रले पिटाइ खाने समयमा एयरपोर्टमा जुत्ता दिने भाइको सयौं मोटरसाइकलसहितको टोलीको आगमन होस् । चाहे मेयरको साथी व्यवसायी भोला (दयाहाङ राई)लाई नियतवश हिरासतमा कोच्दा होस् या उसलाई हिरासतबाट निकाल्दा होस् । चाहे सामाजिक अभियन्ताको मेयरमाथिको प्रश्न होस् या ती अभियन्ता मेयरसँग पैसामा बिक्री हुँदाको दृश्य होस् । चाहे छोरी अपहरण हुँदा होस् या विपक्षी दलका नेताले उम्मेदवारी मनोनयन गर्दा होस् । यी ट्विस्टले दर्शकलाई बाँधेर राख्छ ।

इन्द्रले मेयरको उम्मेदवारी घोषणा गर्दा दर्शकले ताली पिट्छन् । तर, हिजो दुबई गएर ५०-६० हजार पैसा कमाउन हिँडेको सामान्य नागरिकले अचानक कसरी मेयरको घोषणा गर्नसक्छ ? जब कि विगतमा उसको कुनै राजनीतिक चासो छैन । राजनीतिप्रति उनले एक शब्द पनि संवाद बोलेका छैनन् । यो ट्विस्टलाई पत्यारिलो बनाउन पटकथामा मेहनत पुगेको देखिएन ।

मेयर साम्पाङले यत्तिकै फुत्त चुनाव जितेका थिएनन् । विगत लामो समयदेखि धरानका बेथितिमाथि प्रश्न उठाउँदै आएका थिए । बालेन्द्रले पनि यत्तिकै लहडमा निर्वाचन लडेका थिएनन् । चार-पाँच वर्षदेखि तयारी गरिरहेका थिए । तर, ‘दिमाग खराब’मा इन्द्रले लिने निर्णय भने अचानक र आवेशी छ । सुरुबाटै राजनीतिक चासो भएको र निराशासहित दुबई हिँड्न लागेका थिए भने उसको उम्मेदवारी अझै गज्जब हुने थियो ।

सँगै फिल्मलाई एक खालको संरचनामा मात्रै लैजाँदा फिल्मले ट्विस्ट ल्याउनमात्रै बल गरिरहेको देखिन्छ । मूल पात्रलाई अनेक उल्झन र पारिवारिक किचलोमा पारिएको छ । सुरुदेखि निरन्तर दर्शकको दिमागमा तनाव र बोझ थोपरिन्छ । पात्रलाई आवश्यकताभन्दा बढी दुःखको भारी बोकाइँदा मनोरञ्जन खोज्न हलसम्म पुगेका दर्शक दिक्क बन्न सक्छन् ।

दर्शकलाई बढी संवेदित र भावुक बनाउन राखिएका केही प्रसंगहरु यथार्थपरक छैनन् । सुरुवातमै इन्द्र विदेश जाँदा खाली खुट्टा विमानस्थलमा लाइन लाग्न पुग्छन् । उसको चप्पल चुँडिएको हुन्छ । यो पत्यारिलो लाग्दैन । डेढ-दुई लाख ऋण लिएर विदेश हिँडेको युवाले कम्तिमा एकजोर जुत्ताको जोहो त गरेको हुन्छ नै ।

गाउँटोलमा एउटा घर जल्दा छरछिमेकी केही मिनेटमै जुट्छन् । तर, यहाँ हारगुहार गर्दा पनि चरोमुसो आउँदैन । एउटा आमसभामा मरणासन्न हुने गरी पिटिएको युवकलाई प्रहरीले होइन, अभियन्ताले अस्पताल लगेको दृश्य पनि त्यस्तै अतिरञ्जित छ । अझ अतिरञ्जित छ, प्रहरीले एउटा गम्भीर घाइतेलाई अस्पतालबाटै थुतेर हिरासतमा पुर्‍याएको दृश्य । यतिसम्म अमानवीय नेपाल प्रहरी पक्कै छैन । अनि, गम्भीर अवस्थामा हिरासतमा लगिएको व्यक्ति खोइ कसरी आफैं ठीक हुन्छ । काठमाडौंको खान्दानी परिवारकी स्वस्तिमाले कसरी गाउँको एउटा तन्नम युवकसँग विवाह गर्न पुगिन् भन्ने खुलाइएको छैन ।

चलचित्रमा पात्रहरुको चरित्र चित्रण भने राम्रोसँग गरिएको छ । दुई जना असल साथीहरुको आत्मीयतालाई चलचित्रले निकै मार्मिक रुपमा पेश गर्छ । श्रीमान र श्रीमतीबीचको द्वन्द्व पनि यथार्थपरक लाग्छ । भाइरल अभियन्ताको शैली र प्रवृत्तिलाई चलचित्रले निकै मजासँग उदांगो बनाइदिएको छ ।

फिल्मको मुख्य पात्रमा खगेन्द्र लामिछाने छन् । आफू सुहाउँदो भूमिका पाएका उनले अभिनयमा राम्रो बल लगाएका छन् । तर, ‘टलकजंग भर्सेस टुल्के’ मा जत्तिको जोडदार चाहिँ छैन ।

स्वस्तिमा खड्काले चुनौतीपूर्ण भूमिका पाएकी छन् । गाउँले दुःखी पात्रको भूमिकामा उनले प्राण भरेकी छन् । दयाहाङ राईको अभिनयमा नयाँपन छैन । नेगेटिभ रोलमा अर्पण थापा जमेका छन् । सुमन कार्कीको उपस्थितिले चलचित्रलाई प्लस प्वाइन्ट त भएको छ । तर, उनीबाट दर्शकले जुन ‘कमेडी’ को आशा राख्छन्, त्यो भने मिल्दैन । विजय बराल सधैं झैं अब्बल छन् । माओत्से गुरुङ सामान्य छन् ।

फिल्मको सम्पादन र ब्याकग्राउण्ड स्कोरको गजबको तालमेल महसुस हुन्छ । फिल्मको मूल कथाभन्दा उपकथाहरु बलिया छन् । समग्रमा सिनेम्याटोग्राफी ठीकठाकै छ । तर, हरिप्रसाद रिसाउँदा घुमाइएको क्यामेराको सट चाहिँ हास्यास्पद लाग्छ । कम्तीमा नेपाली दर्शक निकै माथि उठिसकेका छन् । दिमाग खराब भएको कुरा क्यामेरा घुमाएरै बताइरहनु पर्दैन होला ।

०००

समग्रमा ‘लुट’मार्फत् नेपाली फिल्ममा एक खालको ट्रेन्ड सेटर बनेका बस्नेतले ‘दिमाग खराब’ मार्फत अर्को स्तरीय चलचित्र दिएका छन् । चलचित्रको कम्तिमा ८० प्रतिशत हिस्साले दर्शकलाई बाँधेर राख्छ । बाँकी २० प्रतिशत दृश्यमा भने दर्शक बोर हुन सक्छन् ।

निर्देशकीय पाटोमा बस्नेत सफल छन् । ६ वर्षपछि कमब्याक गर्दा उनले निर्देशन बिर्सिसकेका रहेनछन् भन्ने मानौं । तर, आफैं पर्दामा देखिने मोहले उनलाई छोडेन । हिरोइज्मले भरिएको एउटा सशक्त भूमिका उनले आफ्नै लागि छुट्याएका छन् ।

कृषि र पर्यटनमार्फत् मात्रै मुलुकको विकास हुन्छ भनेर भन्नलाई भनिन्छ । तर, यथार्थमा कृषिमा काम गर्न चाहने युवाहरुलाई कसरी यो सिस्टमले निरुत्साहित बनाउँछ, फिल्मले देखाउन खोजेको छ । प्रेमप्रसाद आचार्यहरु किन आत्मदाह गर्नुपर्ने अवस्थामा पुग्छन् ? चुस्स भए पनि बस्नेतले उप्काउने कोसिस गरेका छन् ।

तर, इन्द्रको साथी भोलाले कृषिमा अनुदान लिएका छन् । यथार्थमा भने सम्पूर्ण कृषि अनुदानहरु राजनीतिक दलका कार्यकर्ताहरुको पोल्टामा जाने गरेको छ । भोला जस्ता उद्यमीका लागि सरकारी अनुदानको बाछिटा पनि पर्दैन । यसमाथि थोरै रिसर्च गरिएको भए फिल्म अझै गजब हुन्थ्यो ।

अन्त्यमा, ‘लुट’को निर्देशक भनेर जो–जो दर्शक हलमा जानेछन्, उनीहरुलाई बस्नेतले यसपटक निराश बनाएका छैनन् । कम्तीमा यही नै बस्नेतको सफलता हो । फिल्म हेर्ने दर्शकहरु निराश भएर फिर्नुपर्ने छैन । र ‘नेपाली फिल्मलाई माया गरिदिनुहोस्’ भनेर हात जोडेर दर्शक बोलाउनुपर्ने खालका फिल्महरुभन्दा ‘दिमाग खराब’ निकै नै अब्बल छ ।

नेपाल प्रेसबाट