रोकिएन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी

फागुन २१, २०७८


काठमाडाै‌ २१ फागुन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्कर भएको खुलासा भएसँगै प्रहरीले सुरक्षा–प्रबन्ध निकै कडा बनायो । तर, तस्करले विमानस्थलबाट सुन तस्करी गर्न छाडेका छैनन्, बरु बढाएका छन् । बरामद भएका सुनका पछिल्ला घटनाले यस्तै देखाउँछ ।

पछिल्लो सात महिनायता अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै २१.५२२ केजी सुन बरामद भएको छ । जसको बजारमूल्य एक अर्ब ७३ करोड ६८ लाख ९९ हजार ५१ रुपैयाँ हुन्छ । प्रहरीका अनुसार पछिल्ला दिनमा तस्करले तस्करीका लागि अनौठा–अनौठा तरिका अपनाउने गरेका छन् ।

तस्करीका लागि धेरै प्रयोगमा ल्याइएको तरिका क्याप्सुल हो । गत २९ मंसिरमा दुबईबाट काठमाडौं आएका ३२ वर्षीय भारतीय नागरिक मोहम्मद साहिद इब्राहिम शेखलाई प्रहरीले सुनसहित पक्राउ गर्‍यो । उनले क्याप्सुल बनाएर दुबईदेखि सुन ल्याएका थिए । अर्धतरल र धुलोमा बदलेर पनि तस्कर हुने गरेको छ ।

दुबईबाटै गत २९ माघमा काठमाडौं आएका चिनियाँ नागरिक झाङ लीलाई प्रहरीले ४.८४० केजी सुनसहित पक्राउ गर्‍यो । उनले धुलो र अर्धतरल बनाएर सुन ल्याएका थिए । अन्डरवेयरभित्र फल्स बटम बनाई ल्याइएको सुनलाई प्रहरीको मेटल डिटेक्टरले समेत पहिचान गर्न सकेको थिएन । उनलाई आगमन कक्षबाहिर पक्राउ गरिएको थियो ।

त्यसबाहेक तार र गहनामा परिणत गरेर पनि सुन तस्करी गर्ने गरिएको छ । गत १३ फागुनमा एक किलो एक सय ६५ ग्राम सुनसहित पक्राउ परेका ३४ वर्षीय कमल घिमिरेले सोही तरिका अपनाएका थिए । उनले ज्याकेटभित्र स–सानो खल्ती बनाई दुबइबाट सुन ल्याएका थिए । उनलाई भन्सारमा सघाउने काम भने बिमानस्थलस्थित अध्यागमन कार्यालयका नायव सुब्बा लक्ष्मण गुरागाईले गरेका थिए ।

बिमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भीम ढकालले सुन तस्करीका लागि तस्करले अनेक तरिका अपनाउने गरेको बताए । उनले भने, ‘हामीले सुरक्षा व्यवस्था कडा पारेका छौं । तैपनि तस्कररूले अनेक तरिका अपनाएर तस्करी गरिरहेका छन् । कोही क्याप्सुल बनाएर ल्याउँछन् । कसैले अर्ध तरल बनाउँछन । धुलो बनाएर पनि तस्करी हुने गरेको भेटिएको छ । त्यसबाहेक गहना बनाएर ल्याउने पनि धेरै छन् ।’

पाँच बर्षमा चार सय सात किलो सुन बरामद
आर्थिक बर्ष ०७३र७४ देखि ०७७र७८ सम्मको पाँच बर्षको अवधिमा प्रहरीले तस्करी हुँदै गरेको करिब चार सय सात किलो सुन बरामत गरेको छ । प्रहरीको तथ्यांकअनुसार ०७७र७८ मा ३७ किलो नौ सय ९७ ग्राम, ०७६र७७ मा ३३ किलो सात सय ५३ ग्राम, ०७५र७६ मा ६० किलो चाठ सय पाँच ग्राम र ०७४र७५ मा दुई सय आठ किलो नौ सय ६९ ग्राम सुन बरामद भएको छ ।