संस्कृत विश्वविद्यालयमा अब वास्तु इन्जिनियरिङको पनि पढाइ

फागुन २७, २०७८


नेपाल संस्कृत विश्वविद्यालयले अब प्राच्य इन्जिनियरिङ (वास्तुशास्त्र र स्थापत्यशास्त्र) कार्यक्रममा पठनपाठन सुरु गर्ने भएको छ । संस्कृत विश्वविद्यालयको सभाले वास्तु इन्जिनियरिङको नियमावली पारित गरेसँगै पठनपाठनको बाटो खुलेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले स्नातक (शास्त्री) र स्नातकोत्तर तहमा वास्तु इन्जिनियरिङको पठनपाठन हुने बताए । बिई चारवर्षे र एमई दुईवर्षे हुने उनको भनाइ छ । ‘संस्कृतको प्राचीन विद्या र आधुनिक इन्जिनियरिङको ज्ञानबाट बनेको वास्तु इन्जिनियरिङ अध्ययन गरेर पूर्ण इन्जिनियरिङ बन्ने गरी कोर्स तयार भएको छ,’ उपकुलपति लामिछानेले भने ।

उनका अनुसार चारवर्षे स्नातक इन्जिनियरिङ कार्यक्रमको पाठ्यक्रम आधुनिक आर्किटेक्ट इन्जिनियरिङका विषयलाई समेटेर तयार गरिएको छ । विश्वविद्यालय सभाबाट नियमावली पारित भएपछि नेपाल इन्जिनियरिङ परिषद्बाट स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने विश्वविद्यालयको तयारी छ । उपकुलपति लामिछानेले अहिले आधुनिक इन्जिनियर भवन निर्माणमा जोडिए पनि वास्तु हेर्नसमेत छुट्टै जनशक्ति प्रयोग हुने गरेकामा अब एकजनाबाटै सबै काम हुने विश्वास लिएको बताए । भौतिक पूर्वाधार निर्माणसँगै आगामी वर्षको शैक्षिक सत्रमा बिई कक्षा सुरु गर्ने विश्वविद्यालयको योजना छ । नेपालमा यस किसिमको इन्जिनियरिङको आवश्यकता महसुस भएको उपकुलपति लामिछानेले बताए ।

विद्यार्थी आकर्षण गर्न नयाँ कार्यक्रम
संस्कृत विश्वविद्यालयले विद्यार्थीलाई आकर्षित गर्न परम्परागत ज्ञानलाई आधुनिकतासँग जोडेर वैदिक कृषि, योग तथा प्राकृतिक चिकित्सामा स्नातक तह कार्यक्रम सञ्चालनको तयारी गरेको छ । जुनसुकै विधाबाट आएका विद्यार्थीलाई पनि उपयुक्त हुने गरी जीवनशैली व्यवस्थापन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । वेदमा उल्लेख भएका विषयवस्तुका आधारमा आधुनिक कृषिलाई जोडेर कार्यक्रम सञ्चालन गर्ने तयारी छ । अहिले विद्यार्थी घट्दै गएको विश्वविद्यालयले नयाँ कार्यक्रमबाट विद्यार्थी आकर्षण गर्न खोजेको छ । नयाँ कार्यक्रम सञ्चालनका लागि केही विषयको ड्राफ्ट बनिसकेको छ । नेपाल संस्कृत विश्वविद्यालयमा स्नातक तहमा २२ वर्षपछि पाठ्यक्रम परिमार्जन भइरहेका छन् ।

संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको दाङमा दुई सय शड्ढयाको एकीकृत अस्पताल बन्ने भएको छ । प्राकृतिक र आधुनिक पद्धति सबै सेवा एकै ठाउँमा उपलब्ध गराउने लक्ष्यसहित अस्पताल बनाउने निर्णय भएको हो । एकीकृत अस्पतालमा आयुर्वेद, युनानी, प्राकृतिक चिकित्सा, एलोपेथी गरी चार पद्धतिबाट उपचार हुने गरी अस्पताल निर्माण हुन लागेको हो ।

नयाँ शैलीले अघि बढ्न प्रधानमन्त्री देउवाको आग्रह
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बिहीबार बसेको संस्कृत विश्वविद्यालय सभामा संस्कृत विश्वविद्यालयलाई अब पुरानो तरिकाले होइन, नवीन शैली र सोचका साथ अघि बढाउनुपर्ने बताए । अहिले विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसात् गर्दै र आफ्नो हितमा तिनको सार्थक उपयोग गर्दै संस्कृत विश्वविद्यालय अगाडि बढ्न सक्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

देउवाले ऋषिमुनिहरूले नासोका रूपमा सुम्पेका आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, पौरस्त्य विधिशास्त्र ९प्राच्य कानुन०, वैदिक कृषि, वास्तुशास्त्र र स्थापत्यशास्त्र ९प्राच्य इन्जिनियरिङ०जस्ता प्राचीन प्रयोगपरक विधालाई आधुनिक तरिकाले पठनपाठन गराउने दिशामा नेपाल संस्कृत विश्वविद्यालय अग्रसर रहेको र यस्ता विधा अनुसन्धानमूलक बनाएर राष्ट्रिय आवश्यकता पूरा गर्नुपर्ने बताए । ‘अचल सम्पत्तिका दृष्टिले अत्यन्त समृद्ध नेपालका केही संस्थामध्ये नेपाल संस्कृत विश्वविद्यालय पनि एक हो । तर, बितेका केही वर्षयता उक्त सम्पत्तिलाई विश्वविद्यालयको विकास र विस्तारमा सदुपयोग गर्न सकिएको छैन,’ उनले भने, ‘चल–अचल सम्पत्तिको संरक्षण र संवद्र्धन गर्दै त्यसको अधिकतम परिचालन गरी विश्वविद्यालय आर्थिक रूपमा आत्मनिर्भर बन्ने प्रयत्न गर्नुपर्दछ । यसका लागि सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त हुनेछ ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसात् गर्दै र आफ्नो हितमा तिनको सार्थक उपयोग गर्दै विश्वविद्यालय अगाडि बढ्नुपर्ने बताए । ‘शिक्षा क्षेत्रलाई कोरोनाले महत्वपूर्ण पाठ सिकाएको छ,’ उनले भने, ‘यो महाव्याधिबाट हामीलाई शिक्षाको परम्परागत शैली र संरचनालाई पुनर्संरचित गर्नुपर्ने साथै अध्ययन–अध्यापनका नवीन विकल्प खोज्दै जानुपर्ने आवश्यकता बोध भएको छ ।’ उनले मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योगविज्ञान र प्राकृतिक चिकित्साका साथै जनजातीय समुदायमा पाइने शारीरिक तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित, तर लुप्त हुन लागेका अनेकौँ अन्तर्ज्ञानहरूको खोज, अनुसन्धान र संरक्षणका लागि विश्वविद्यालय क्रियाशील रहनुपर्ने बताए ।

विश्वविद्यालय सभामा उपकुलपति प्रा।डा। यादवप्रकाश लामिछानेले अहिलेको अर्थप्रधान प्रतिस्पर्धात्मक विज्ञान र प्रविधिको युगमा संस्कृत वाङमयको संरक्षण र संवद्र्धन चुनौतीपूर्ण रहे पनि संस्कृत विश्वविद्यालयले मौलिकताको रक्षाका साथसाथै यसको आधुनिकीकरणका लागि पनि यथोचित प्रयास गर्दै आएको बताए । उनले विश्वविद्यालयको विभिन्न तहको पाठ्यक्रममा परिष्कार, परिमार्जन र अद्यावधिकीकरण गर्ने काम भइरहेको उल्लेख गर्दै पठनपाठन एवं अनुसन्धानमा नवीनतम विधाहरू समायोजित गर्दै जान आवश्यक भएको उल्लेख गरे । शास्त्री तहलाई चारवर्षे बनाउन सम्बद्ध विषय समितिका अध्यक्षहरूको संयोजकत्वमा विज्ञहरूसहितको पाठ्यक्रम निर्माण समिति गठन गरी नवीन पाठ्यक्रम निर्माण भइसकेको लामिछानेले जानकारी दिए ।