आँखा उपचारमा तुलसीपुर उपमहानगरपालिका देशमै उत्कृष्ट

चैत १३, २०७८


ओपेन्द्र बस्नेत
तुलसीपुर, १३ चैत्र ।

आँखा स्वास्थ्य उपचारमा तुलसीपुर उपमहागनरपालिका देशमै उत्कृष्ट भएको छ । नेपालमै पहिलो पटक अन्धोपन निवारणमा काम गरेको भन्दै तुलसीपुरलाई नेपाल नेत्रज्योति संघले उत्कृष्ट सूचिमा राखेको हो ।

जसकाकारण उत्कृष्ट कार्य गरेको भन्दै तुलसीपुर उपमहानगरपालिकालाई काठमाण्डौ सम्मान पनि गरिएको छ ।
४४औं नेपाल नेत्रज्योति दिवसका अवसरमा अन्धोपन निवारणमा देशभरमा उत्कृष्ट कार्य गरेको भन्दै नगर प्रमुख घनश्याम पाण्डेलाई काठमाण्डौमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सम्मान गर्नुभएको हो ।
उपमहानगरपालिकाले उज्यालो तुलसीपुर कार्यक्रम अन्तर्गत नेपाल नेत्रज्योति संघ दाङको साझेदारीमा ३ सय बढीलाई उज्यालो संसार देखाएको राप्ती आँखा अस्पताल तुलसीपुरका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिनुभयो ।
देशका ७५३ वटा स्थानीय तह मध्य अन्धोपन निवारणमा नेत्रज्योतिसंघ दाङसंग साझेदारीमा काम गर्ने पहिलो स्थानीय तह तुलसीपुर उपमहानगरपालिका भएको सूचना अधिकारी खड्काले बताउनुभयो ।
तुलसीपुरलाई मोतिया विन्दु मुक्त बनाएर उज्यालो तुलसीपुरको अवधारणा ल्याएको तुलसीपुर उपमहानगरपालिकाको अहिले अन्य पालिकाहरुले पनि सिको गर्न थालेको नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्ण गिरीले बताउनु भयो । संघका अध्यक्ष गिरीका अनुसार मोतिया विन्दुको अप्रेशनका लागि उपमहानगरले प्रतिव्यक्ति ५ हजार र संघले ३ हजार व्यहोर्दै आएको छ ।
यसका लागि गरिब तथा विपन्न वर्गका नागरिकले सम्बन्धित वडाको सिफारिसमा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले नेत्रज्योति संघलाई पत्राचार गरेपछि मोतिया विन्दुको अप्रेशनका लागि उपचार सेवा पाउने व्यवस्था गरिएको छ ।
निशुल्क मोतिया विन्दुको अप्रेशनका लागि तुलसीपुर उपमहानगरपालिका र नेपाल नेत्रज्योति संघ दाङका बिचमा २०७४ भदौमा सम्झौता भएको थियो ।