सरकारले पत्रकारको निःशुल्क उपचारको व्यवस्था मिलाउने

चैत १६, २०७८


काठमाण्डौ, १६ चैत ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पत्रकारको निःशुल्क उपचारको व्यवस्था गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा उहाँले महासङ्घको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था मिलाइने बताउनुभयो ।

सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ । मन्त्री खतिवडाले मातहतका कर्मचारीलाई पत्रकारको स्वास्थ्य उपचारको विषय कार्यान्वयनमा ल्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको उल्लेख गर्नुभयो ।