तुलसीपुरमा मतगणना रोकियो

जेठ ०४, २०७९


तुलसीपुर, ४ जेठ ।

तुलसीपुर उपमहानगरपालिकाको मतगणना रोकिएको छ । मतगणना स्थलमा एजेन्ट प्रवेशको विषयलाई लिएर विवाद हुँदा केहि समयका लागि मतगणना कार्य रोकिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । मतगणना उच्च सरकारी वकिलको कार्यालयको हलमा भइरहेको छ ।

’म घोराहीमा छु । एजेन्ट प्रवेशको विषयलाई लिएर सामान्य विवाद भएपछि एकैछिनलाई गणना रोकिएको छ । सहमति लगत्तै पुनः मतगणना सुरु हुन्छ ।’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो । एमालेका प्रतिनिधिले सहमति अनुसार एकजना उम्मेदवार बराबार एक जना मात्र एजेन्ट हुनुपर्ने माग राखेका छन् ।

नेपाली काँग्रेसले गठबन्धनबाट पाँचजना र एमालेबाट एकजना मात्र हुनुपर्ने भन्दै एजेन्ट भित्र प्रवेश गराएपछि विवाद भएको एमालेका युवा नेता सुरेश रावतले बताउनुभयो । विवाद अघि एकजना उम्मेदवार बराबर एकजना प्रतिनिधिको सहभागीता रहेको थियो । एजेन्टका विषयमा विवाद भएपछि नाराबाजी समेत भएको छ । विवादका कारण मतगणना भइसकेका वडाको अन्तिम नतिजा समेत सार्वजनिक गरिएको छैन ।