तुलसीपुर ५ मा मिश्रित नतिजा, गठबन्धन तिन र एमाले दुई सदस्य निर्वाचित

जेठ ०६, २०७९


तुलसीपुर ६ जेठ । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को मिश्रित मतपरिणाम आएको छ । वडाको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका विरेन्द्र शाह निर्वाचित हुनु भएको छ । शाह यस अघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । गठबन्धनले वडा अध्यक्ष सहित तिन सदस्य जितेको छ भने एमालेको दुई सदस्य जितेको छ । खुल्ला सदस्यमा गठबन्धनको तर्फबाट कांग्रेसका भिम बहादुर केसी, दलित महिला सदस्यमा मधुमती सुनार, एमालेबाट खुल्ला सदस्यमा युवराज नेपाली र महिला सदस्यमा लालमति भण्डारी निर्वाचित हुनु भएको छ ।

तुलसीपुरमा अहिले सम्म १, २,४ र ५ नम्वर वडाको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ भने अहिले वडा नम्वर ३ र ६ को मतगणना जारी छ । अहिले सम्म तुलसीपुरमा जम्मा खसेको मत मध्ये १८१९३ मतगणना सकिएको छ ।जसमा मेयरमा गठबन्धन १८१ मतले अगाडी रहेको छ । एमालेका टिकाराम खड्काले ७४८६ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनको तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले ७६६७ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा एमाले अगाडी रहेको छ । एमालेका स्यानी चौधरीले ६९६१ र गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका जोग बहादुर रानाले ५९४७ मत प्राप्त गर्नुभएको छ । चौधरी र राना बिचको १०१४ मतान्तर रहेको छ ।