तारा एअरद्वारा पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित

जेठ २०, २०७९


काठमाण्डौ २० जेठ ।

यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित गरेको छ । एअरलाइन्सले आजदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गरेको हो ।

यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले तारा एअरले विशेष कारणवश पोखरा–मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।

गएको आइतवार पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा दुर्घटना हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २२ जनाको निधन भएको छ ।