दाङमा रासायनिक मलको अभाव

जेठ २०, २०७९


तुलसीपुर, जेठ २० ।

 सरकारले समयमै रासायनिक मल उपलब्ध नगराउँदा यस वर्ष पनि दाङमा रासायनिक मलको अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाले जिल्लामा रासायनिक मलको अभाव देखिएको जानकारी दिएको हो । जिल्लामा हरेक वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव हुँदै आएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाका प्रमुख टोपाराम गौतमका अनुसार जिल्लामा हाल ४ सय ७ मेट्रिक टन डिएपी मल मात्रै स्टक रहेको छ । तर युरिया मल भने जिल्लामा नै अभाव रहेको छ ।अहिले मल वितरण भइरहेकाले स्टक मल पनि थोरै रहेकाले आगामी सोमबारदेखि जिल्लामा कुनै पनि रासायनिक मल नरहने उहाँले बताउनु भयो । समयमै पर्याप्त मात्रामा मल नआउँदा मल अभाव भइरहेको कम्पनीका घोराही शाखा प्रमुख टोपाराम गौतमको भनाई छ । जिल्लाको घोराहीबाट यसबर्ष १ हजार ४ सय ७६ दशमलव ३५० टन यूरिया मल र ७ सय ६ टन डिएपी मल वितरण गरिएको छ । जिल्लामा करिब ४ हजार टन यूरिया र २ हजार ५ सय टन डिएपी मल भएमा बर्षाको सिजनमा पुग्ने गरेको प्रमुख गौतमले जानकारी जानकारी दिनुभयो ।
घोराहीमा आउने रासायनिक मल रोल्पा, रूकुम पश्चिम र सल्यानमा मल वितरण गरिँदै आइएको छ । नेपाल सरकारले हाललाई भारत सरकारसँग जीटूजी मार्फत मल खरिद प्रक्रिया अघि बढाएको जनाएको छ । लिमिटेड घोराही शाखा प्रबन्धक टोपाराम गौतमले असार दोस्रो हप्ता मल आउने जानकारी दिनुभयो ।

यसैबिच जिल्लामा किसानलाई समयमै रासायनिक मल उपलव्ध गराउन माग गर्दै नेपाल किसान संघ दाङले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।बर्षादको समय सुरु भैइसक्दा पनि किसानले मकै र धान खेतीमा प्रयोग गर्नका लागि रासायनिक मल नपाउनु दुःखद भएको भन्दै किसान संघले अभिलम्व किसानलाई मलको व्यवस्था गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
रासायनिक मलको अभाव हुनु नेपालको नीतिगत समस्या भएपनि समयमै खरिद प्रक्रिया सुरु नगरि अस्वभाविक रुपमा अभाव सिर्जना गरिनु अस्वभाविक र दुःखद भएको नेपाल किसान संघका अध्यक्ष गोर्वधन शर्माले बताउनु भयो ।