असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक हुने

जेठ २३, २०७९     सम्पूर्ण कुरा


निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ ।

आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो ।

सरकारले गत माघ २५ गते स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य स्थगित भएको थियो ।

आयोगका अनुसार मतदाता नियमावली ऐन २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका नेपाली नागरिकहरूले निर्वाचन आयोगको प्रदेश तथा जिल्ला कार्यालयका साथै इलाका एवं जिल्ला प्रशासन कार्यालयहरूमा गई मतदाता नामावली दर्ता गर्न सक्नेछन् ।

‘नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित कार्यालयमा निवेदन दिन सकिनेछ’, प्रवक्ता पौडेलले भने ।

आयोगले असार १ देखि सुरु हुने मतदाता नामावली अद्यावधिक कार्यक्रम सफल पार्न सहयोग गरिदिन राजनीतिक दल, नागरिक समाज तथा सम्बन्धित सबैलाई आग्रह समेत गरेको छ ।