उत्खननको विवाद मिलाउन दाङका सिडीयो र एसपी खोलामा

जेठ २४, २०७९


तुलसीपुर, २४ जेठ ।

उत्खननको विषयलाई लिएर शान्तिनगर गाउँपालिका र बबई गाउँपालिाका स्थानीयका बीचमा विवाद भएपछि दाङका सुरक्षा प्रमुखहरु खोलामा पुगेका छन् । ठेकदारले जथाभावी रुपमा अवैध उत्खनन् गरेको भन्दै गुनासो गरेपछि दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र दाङका प्रहरी प्रमुख सुरेश काफ्ले वास्तविकता बुझ्न त्यहाँ पुग्नु भएको हो ।

क्षेत्राधिकार भन्दा बाहिर गएर वेगम कन्ट्रक्सन शान्तिनगरले उत्खनन् नगर्ने सहमति जनाएपछि विवाद मिलेको छ । ठेकदारले ठेक्का लिएको ठाउँभन्दा बाहिर गएर अबैध रुपमा उत्खनन् गरेको भन्दै स्थानीयले गुनासो गरेपछि जिल्लाका सुरक्षा प्रमुख र गाउँपालिका अध्यक्षहरु उत्खनन् स्थलमा पुगेका थिए ।

बबई गाउँपालिकाले वडा नम्बर–७ को बेलासपुरमा नदिजन्य वस्तुको उत्खनन्का लागि वेगम कन्ट्रक्सन शान्तिनगरलाई गएको मंसिर २० गते २५ लाख ४५ हजारमा ठेक्का दिएको थियो । ४ मिटर लम्बाई ३० मिटर चौडाई, ६० सेन्टीमिटर गहिराईमा ६ हजार घनमिटर नदिजन्य वस्तुको उत्खनन् गर्नेगरी कन्ट्रक्सले ठेक्का लिएको छ ।

यद्यपी बबई गाउँपालिका इन्जिनियर राजेश देवकोटा नेतृत्वको प्राविधिक टोलिले उत्खनन् स्थलको नापजाँच गरेर कन्ट्रक्सनले आफुहरुले दिएको क्षेत्रभित्र नै उत्तखन्न गरेको बताएको थियो । स्थानीय जुद्ध बहादुर बस्नेतल लगाएतका स्थानीयले सम्बन्धित क्षेत्रको अवस्था नहेरी कोठामै वातावरण प्रभाव मूल्याङकन गरेर झुक्याउने काम गरेको आरोप लगाएका थिए ।
दुई गाउँको प्रतिनिधित्व गर्नेगरी शान्तिनगर गउँपालिका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर केसीको पनि सहभागिता रहेको थियो ।