यौन हिंसाका दोषीलाई दिने सजाय कम भयो : सांसद डिला संग्रौला

असार २७, २०७९


असार २७, सत्तारुढ नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकारले संसदमा पेश गरेको यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९ प्रति असन्तुष्टि जनाएकी छन् । सांसद संग्रौलाले सो विधेयक बलात्कारजस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्न पर्याप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा भयावह ढंगले बढिरहेका त्यस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्नका लागि सरकारले अन्तर्राष्ट्रिय मापदण्ड र संयुक्त राष्ट्रसंघको उदाहरणलाई ध्यानमा राखेर कानुन बनाउनुपर्ने माग समेत गरिन् ।

उनले विद्यमान विधेयकले व्यवस्था गरिएको दण्ड, जरीवानाले बलात्कार जस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नसक्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । बलात्कारका घटनाहरू जबरजस्ती करणीका घटनाहरू डरलाग्दो भयावह रूपमा समाजमा निरन्तर घटिरहेको छ । त्यसैले यो घटना मानवता विरोधी घटना हो यसले हरेकको मनलाई छोएको छ उनले भनिन् यो कानुनमा केही सुधार भए पनि हदम्यादले मात्रै समाजमा विद्यमान अपराधका घटनालाई नियन्त्रण गर्न सक्दैन ।