गठबन्धन नगरी सिट बढाउन सकिन्छ भने त्यो उत्तम बाटो हो : प्रदीप पौडेल

असार २८, २०७९


असार २८, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धनबारे समीक्षा गर्नुपर्ने बताएका छन् । गठबन्धनका राम्रा र नराम्रा पक्षमाथि छलफल गरिनुपर्ने उनले बताए । सोमबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले गठबन्धन नगरी कांग्रेसले धेरै सिट बढाउन सक्छ भने त्यो उत्तम भएको बताए ।

गठबन्धनका राम्रा-नराम्रा पक्षमाथि छलफल गरौं । गठबन्धन नगरी आफ्नो पक्षमा मत, सिट बढाउन सकिन्छ भने त्यो उत्तम बाटो हो उनले भने, तर गठबन्धनमा नजाँदा हाम्राविरुद्ध बन्न सक्ने गठबन्धनका कारण निर्वाचन नतिजामा पर्न सक्ने असरलाई ख्याल गर्नुपर्छ । उनले निर्वाचनको मुखमा पार्टीमा एकता आवश्यक रहेको बताए । सभापति शेरबहादुर देउवाले पार्टीमा उदारता देखाउन जरूरी रहेको उनको भनाइ थियो ।

सभापतिले उदारता देखाउन जरुरी छ । अरुले पनि निर्वाचन हुन लागेको समयको संवेदन शिलता बुझ्न जरुरी छ उनले भने, कांग्रेसमा सबै पक्षका लागि स्पेस छ भन्ने वातावरण सभापतिले बनाउनु पर्छ । सँगसंगै सभापतिलाई कमजोर बनाएर अहिले कांग्रेस बलियो हुँदैन भन्ने पनि स्वीकार गर्नुपर्छ ।