ईन्टर कलेज स्तरिय पुरुष भलिबल प्रतियाेगिता हुने

असार ३०, २०७९


लक्ष्मण बस्नेत, ३० असार दाङ । दाङको तुलसिपुरमा ईन्टर कलेज स्तरिय पुरुष भलिबल प्रतियाेगिता २०७९ हुने भएको छ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङकाे आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा प्रशिक्षण केन्द्रको आफ्नै खेल मैदानमा संचालन हुने प्रतियोगिता साउन १० गते देखि सुरु हुनेछ ।

नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ लगाएत अन्य जिल्लामा स्थापित कलेजका १५ बढी टिमको सहभागिता रहने र बिभागिय टिम तथा एनभिए कप खेलिसकेका खेलाडि टिममा सहभागि हुन नपाउने आयोजक राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिनु भएको छ । पाँच दिन सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र हात पार्ने छ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार, १ सय ११ रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष खत्रीले बताउनुभयो ।

अध्यक्ष खत्रीका अनुसार प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ । जस अनुसार सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर, सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैबीच प्रतियोगिता लाई कसरी भब्य एवं सभ्य बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो तयारी तिब्र पारेको आयोजक यतिबेला सबैको सहयोग र सहकार्यको अपेक्षा सहित टिम दर्ता, प्रचार प्रसार, आर्थिक ब्यबस्थापन लगाएतका पक्षमा लागि परेको छ । प्रतियोगिता संचालनको तालिका अनुसार साउन ९ गते बेलुका ५ बजे सम्म टिम दर्ता गरिसक्नुपर्नेछ भने सहभागी टिमका लागि दर्ता शुल्क ७ हजार राखिएको आयोजकले जनाएकाे छ ।