अन्तर्राष्ट्रियस्तरमा पनि गठबन्धन हुन्छ : परराष्ट्रमन्त्री डा.नारायण खड्का

असार ३०, २०७९


असार ३०, नेपाली काँग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा.नारायण खड्काले राजनीतिक दलका बीचमा गठबन्धन स्वाभाविक भएको बताएका छन् । उनले गठबन्धन राजनीतिक दलका बीचमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पनि हुने बताए । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै खड्काले विचार नमिल्ने देशहरुबीच समेत गठबन्धन हुने गरेको उल्लेख गर्दै देशभित्रै विचार नमिल्ने पार्टीसँग गठबन्धन हुनु स्वाभाविक भएको बताए । पार्टीका कतिपय केन्द्रीय सदस्यहरुले चुनावमा विचार नमिल्ने कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने धारणा राखेपछि खड्काले यस्तो धारणा राखेका हुन् ।

विचार नमिल्ने देशसँग त गठबन्धन भएको छ भने मुलुकभित्र हुँदैन भन्ने होइन, उनले भने, गठबन्धन विश्वव्यापी मान्यता बन्दै गएको छ । गठबन्धन गरेर जाँदा पार्टीलाई पनि घाटा छैन । स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्दा राम्रो नतिजा आएको छ । संघ र प्रदेशमा पनि गठबन्धन गरेर जानुपर्छ । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रो काम गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको उपस्थिति दर्बिलो भएको जिकिर गरे । उनले एमसीसी पास भएर नेपालको अन्तर्राष्ट्रिय छवि उज्यालिएको दाबी गर्दै एसपीसी भने अघि नबढ्ने स्पष्ट गरे ।