ज्ञानदीपमा रक्तदान

असार ३१, २०७९


तुलसीपुर, ३१ असार । लायन्स क्लब अफ दाङ टिचर्सको आयोजना तथा ज्ञानदीप कलेजको सहकार्यमा ज्ञानदीप कलेज परिसर तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लामा रगतको अभाव हुने संकेत देखिएको जानकारी पाएपछि रक्तदान कार्यक्रमको आयोजान गरेको लायन्स क्लब अफ दाङ टिचर्सका अध्यक्ष मनोज केसीले बताउनुभयो । उहाँले भन्नुभयो- ‘हाम्रो संस्था सामाजिक गतिविधिमा विशेष चासो राख्ने संस्था हो । रगत अभावले स्वास्थ्य क्षेत्रमा पार्न सक्ने जटिलतालाई महसुस गरेर कार्यक्रम आयोजना गरेका हौं ।

‘रक्तदान, जीवन दान’ भन्ने मर्मलाई आत्मसात गर्दै ज्ञानदीप कलेजले रक्तदान कार्यक्रममा सहकार्य गरेको कलेजका प्राचार्य सुरेन्द्र जिसीले बताउनुभयो । साथै रक्तदानमा कार्यमा समग्र ज्ञानज्योतिका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले देखाएको उत्साहजनक उपस्थितिप्रति उहाँले खुशी व्यक्त गर्नुभयो ।

अहिलेको अवस्था हेर्दा जिल्लामा पुन: रगत अभाव हुनसक्ने अवस्था सिर्जना भएको रक्तसञ्चार केन्द्र घोराहीका प्राविधक प्रमुख ठाकुर पौडेलले बताउनुभयो । ‘अहिले जिल्लाका विभिन्न अस्पतालबाट स्तरीय स्वास्थ सेवा उपलब्ध हुँदै आएको छ । त्यसका लागि रगतको खपत बढ्दो छ तर रक्तदानको अवस्था भने सन्तोषजनक देखिदैन ।’ उहाँले भन्नुभयो- ‘केही समय यता रगतको स्टक घट्दो छ । तत्काल यसको पूर्ति नहुने हो भने, पुन रगत अभावको हुने संभावना छ । त्यसैले रक्तदाता संघ/संस्थाहरूसँग अनुरोध गरेर विगत केही दिन यता रक्तदान कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’

कार्यक्रममा ज्ञानदीप कलेजका शिक्षाक, कर्मचारी, विद्यार्थी तथा लायन्स क्लब अफ दाङ टिचर्सका पदाधिकारीसहित ५१ जनाबढीले रक्तदान गरेका थिए । रक्तदानमा महिलाको रक्तदाताको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ ।