उपसभामुखमा पुष्पा भुसाललाई निर्वाचित गर्न माओवादीको आग्रह

असार ३१, २०७९


असार ३१, नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको उपसभामुख पदमा पुष्पा भुसाललाई निर्वाचित गर्न आग्रह गरेको छ । शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुख पदमा भुसाललाई निर्वाचित गर्न आग्रह गरेका हुन् ।

गुरुङले राजनीतिक पृष्ठभूमि, संसदमा पाएको जिम्मेवारको आधारमा भुसालले नै उपसभामुखको जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमता राख्ने बताएका हुन् । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईबारे भने कुनै टिप्पणी गर्न चाहेनन् । उपसभामुखका लागि विद्या भट्टराई भन्दा पुष्पा भुसाल नै उपयुक्त उम्मेदवार हुनुहुन्छ, उहाँलाई जिताउन अनुरोध गर्छु उनले भने ।

उपसभामुख पदका लागि भुसाल पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । उनलाई लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ले पनि समर्थन गरेको छ । विद्या भट्टराई एमालेको उम्मेदवार भएका कारण उपसभामुख पदमा गठबन्धनकी उम्मेदवार भुसालको सम्भावना बलियो रहेको छ।