श्रावण महिनामा के गर्दा राम्रो हुन्छ ?

साउन ०१, २०७९     मुस्कान खनाल (युवा ज्योतिषी)


आजदेखि श्रावण महिना सुरु भएको छ । धार्मिक रुपमा यस महिनालाई भगवान शिवजीको प्रिय महिना पनि भनिन्छ । साउन महिनालाई पवित्र महिनाका रुपमा मानिने र धेरैले महिनाभरी साकाहारी खाना (शुद्ध खाना) खाने तथा सोमबार बर्त बस्ने गर्दछन् । त्यसो त श्रावण महिना हरियालीको महिना पनि हो । हरियाली सबैलाई मन पर्ने र स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । अर्को कुरा साउन महिनाबाटै नेपाली चाडपर्वहरुको सुरुवात पनि हुन्छ ।
श्रावण महिनाको सुरुवातको दिनमा विभिन्न चिजहरु राख्दा घरमा शान्ति हुने तथा वर्षैैभरी घरको रक्षा हुने बताइन्छ ।
१) साउन महिनामा घरमा त्रिशुल राख्नु पनि अत्यन्तै शुभ मानिन्छ । साउनको पहिलो दिन आज घरमा त्रिशुल राख्नाले वर्षभरी आउने आपदबाट रक्षा मिल्दछ ।

२)डमरु पनि शिवको पवित्र बाद्य यन्त्र मानिन्छ । डमरुको पवित्र ध्वनीले तपाईको वरपर रहेको नकारात्मक शक्ति हट्ने बताइन्छ । साउनको पहिलो दिन घरमा डमरु राख्ने वा कुनै बच्चालाई उपहारका रुपमा डमरु दिनु शुभ मानिन्छ ।

३)त्यस्तै रुद्राक्ष घरमा राख्नाले पनि सुख र समृद्दि तथा पवित्रता छाउने बताइन्छ । साउन महिनामा चाँदीमा रुद्राक्ष राखेर कुनै गहना बनाएर लगाएमा त्यो समृद्धिदायिक हुने बताइन्छ ।

४)त्यस्तै साउनको पहिलो दिनमा चाँदीको नंन्दी बनाएर घरमा ल्याएर पूजा गर्नाले आर्थिक संकटबाट मुक्ति मिल्ने बताईन्छ । नन्दीलाई शिवको प्रिय बाहन मानिन्छ ।

५) साउन महिनामा गंगाजल ल्याएर घरमा राखेर साउन महिनाभरीपूजा गर्नुभयो भने यसले धन आगमन हुने मानिन्छ । जल दिनहुँ ल्याउन सम्भव नहुने हुनाले आजको दिनमा पवित्र नदीमा गएर ल्याएको जल चाँदी, तामा या पित्तलको भाडोमा राखेर महिनाभरी पूजाका बेला शिवजीलाई चढाउन सकिन्छ ।

६) त्यस्तै साउन महिनामा शिवजीको घाटीमा हरेक समय रहने सर्पको प्रतिमा घरमा ल्यार पूजा गर्नाले पितृ दोष र काल सर्प योगमा राहत दिने बताइन्छ । महिनाभरी सर्पको मुर्ति घरमै राखेर पूजा गरेर महिनाको अन्तिम दिन कुनैपनि शिव मन्दिरमा लगेर चढाइदिनु धेरै राम्रो मानिन्छ ।

७) चाँदीको कडा ल्याएर घरमा राख्दा पनि शुभ मानिन्छ । भगवान शिवले खुट्टामा चाँदीको कडा धारण गरेको पाइएकोले साउन महिनाको पहिलो दिन घरमा चाँदीको कडा राख्नाले तीर्थ यात्रा र विदेश यात्रालाई शुभ बनाउने बताइन्छ ।

८)शिव भगवानलाई दिनहुँ बेलपत्र चढाइने हुनाले साउन महिनामा पनि यसको महत्व अझ बढी भएको बताइन्छ । तर कहिलेकाँही बेलपत्र नपाइने हुनाले यस्तो अवस्थामा चाँदीको बेलपत्र ल्याउने र पूजाका क्रममा दिनहुँ शिवजीलाई अर्पित गर्नाले करोडौ पाप नाश हुने र घरमा शुभकार्यको संयोग बन्ने बताइन्छ ।