माण्डवी गाउँपालिकाको निशानामा करार कर्मचारी

साउन ०१, २०७९


प्युठान, १ साउन ।

पछिल्लो समय स्थानिय पालिकाहरुमा करार कर्मचारीलाई फाल्ने होडबाजी चलेको छ । स्थानीय पालिकामा विभिन्न पार्टीबाट जितेर आएका पालिका प्रमुख उपप्रमुखहरुले विभिन्न तहमा काम गर्दै आरहेका करार कर्मचारीलाईलाई विभिन्न बाहनामा निशान बनाउने गरेका छन् । यस्तै पालिका मध्यको पालिका हो ।

प्युठानको माण्डवी गाउँपालिका । त्यहाँ पनि २१ जना कर्मचारीलाई सेवाबाट हटाएपछि उनिहरु आन्दोलनमा उत्रिएका छन् । राजनीतिक विभेद, निर्वाचनको समयमा सहयोग गर्ने आफ्ना कार्यकर्तालाई करारमा भर्ना गर्नका लागि करार कर्मचारी हटाएको उनिहरुको आरोप छ ।

यसैबिच गाउँपालिकाबाट निष्कासित कर्मचारीले निर्णय सच्याउन २ दिने अल्टिमेटम दिएका छन । गाउँपालिकाले करारमा रहेका कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि कर्मचारीहरुले निर्णय नसच्याए थप आन्दोलन चर्काउने उनिहरुले बताएका छन् ।

कार्यपालिकाको बैठकले पालिकामा कार्यरत २१ जना कर्मचारीहरूको साउन १ गतेवाट लागू हुने गरि असार ३० गते म्याद थप नगर्ने निर्णय गरेको थियो ।

रोजगारीबाट हटाउने निर्णयबाट असन्तुस्ट करार कर्मचारीहरुले आईतबार माण्डबी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन् ।

यो निर्णय पुर्बाग्रह र एकलौटी ढंगले आएको भन्दै उनिहरुले आपत्ति जनाएका हुन् । नियमित सेवामा रहेका कर्मचारीलाई रोजगारीबाट निकाल्ने निर्णय खारेज गर्नुपर्ने भन्दै उनीहरुले ज्ञापनपत्र मार्फत माग गरेका छन । सो निर्णय दुई दिनभित्र नसच्चाईए सङ्घर्षमा उत्रने समेत करार कर्मचारिहरूले चेतावनि दिएका छन ।