वास्तविक वामपन्थीलाई गठबन्धन छाडेर एकतामा आउन ओलीको आह्वान

साउन ०४, २०७९


साउन ४, नेकपा एमालेका अध्यक्ष केपी ओलीले कम्युनिष्ट पार्टीबीच फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको बताएका छन् ।बुधबार काठमाडौंमा नेकपा एमाले बागमति प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकता अभियान फेरि अर्को फुटका लागि भएको र सफल नहुने बताएका हुन् । ओलीले वास्तविक वामपन्थी कोही भए गठबन्धन छाडेर एकतामा आउन आह्वान पनि गरे ।

उनले आफुलाई वामपन्थी भन्नेहरु कांग्रेसको पिँडुलामा समातेर रुने गरेको तर्क गरे । सत्ता गठबन्धभित्रका दलका नेताका स्वार्थले आफैं फुट्ने भन्दै उनले एकता तोड्नका लागि चाँदीको तरबार बनाउनु आवश्यक नरहेका बताए । ओलीले आफु नेतृत्वको सरकारले कोरोना महामारीका बेला पनि शुसासन कायम गर्न सफल भएपनि अहिलेको एक बर्षको सरकारले मुलुकमा भयानक अवस्था सिर्जना गरेको आरोप लगाए ।

उनले समाजवादको आधार तयार गर्ने अभियानलाई अघि बढाउनका लागि एमालेको बहुमतको सरकार आवश्यक पर्ने धारणा राखे । ओलीले आफ्नै पार्टीका कार्यकर्ताहरुले अर्कालाइ भोट दिने प्रवृति देखाउनेले पार्टीबाटै राजीनामा दिनुपर्ने बताए । एमाले पार्टी बनाउन, पार्टीको शुद्धीकरण गर्नुपर्न आफुलाई कम्युनिस्ट बनाउँनुपर्ने उनको भनाई छ । उनले सरकारले विभिन्न बहाना बनाएर निर्वाचनको मिति पछि सार्ने प्रयास गरिरहेको भन्दै आगामी मंसिरमा चुनाव हुनैपर्ने जिकिर गरे ।