तुलसीपुर स्थित पुष्पलालको शालिकमा माल्यार्पण

साउन ०७, २०७९


तुलसीपुर, ७ साउन ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४६ औ स्मृति दिवस मनाइएको छ । नेकपा एमाले जिल्ला कमिटि दाङको आयोजनामा पुष्पलाल स्मृति बाटिका तुलसीपुरमा एक कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा पुष्पलालको सालिकमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु सीता न्यौपाने सिग्देल,कोमल वली, प्रदेश कमिटि सचिव लक्ष्मण आचार्य,सदस्य टीकाराम खड्कालगायतका नेता कार्यकर्ताहरुले माल्यार्पाण गर्नुभएको थियो ।

्कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सहइन्चार्ज सीता न्यौपाने सिग्देलले नेपालमा गणतन्त्रात्मक व्यवस्था ल्याउनका लागि संस्थापक पुष्पलालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । पुष्पलालले नेपालमा कम्युनिष्ट पार्टीको संस्थापना गरेर सर्वहारा वर्गको उत्थान, समाजमा दबिएका आवाजलाई बुलन्द पार्ने काम भएको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका न्यौपानले सर्वहारा वर्गबाटै राज्य सञ्चालनको नेतृत्वमा पुग्दा पुष्पलालको सपना साकार भएको बताउनुभयो । कार्यक्रममा प्रदेश कमिटि सदस्य एवम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पुष्पलालकै मार्गदर्शक अनुसार नेपालको कम्युनिष्ट आन्दोलन अघि बढेको बताउनुभयो । पुष्पलाल स्मृति दिवसका अवसरमा तुलसीपुर नगरकमिटिले शुक्रवार रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो ।