दाङमा ४७० विद्यार्थीले एसईईमा ३.६-४ जीपीए ल्याए

साउन १२, २०७९


तुलसीपुर
१२-साउन/ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा दाङका १२ हजार ७०८ जना परीक्षार्थी पास भएका छन् । बोर्डले बुधबार सार्वजनिक गरेको नतिजामा जिल्लाका २६२ जना परीक्षामा अनुपस्थित बाहेक सबैजना पास भएका हुन् ।

जिल्लामा यसपटक ३ दशमलव ६ देखि ४ जीपीए ल्याउनेको संख्या ४७० रहेका छन् । त्यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको संख्या १ हजार चार सय ६७ जना रहेका छन् भने २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको संख्या १ हजार ८४८ रहेको शिक्षा विकास तथा इकाई दाङले जनाएको छ ।

त्यस्तै २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याउनेको संख्या १ हजार ९९३ जना रहेका छन् भने २ दशमलव देखि २ दशमलव ८ जीपीए ल्याउनेको संख्या २ हजार चार सय ६३ रहेका छन् । त्यस्तै १ दशमलव ६ देखि २ जीपीए ल्याउनेको संख्या २ हजार ६ सय ५८ रहेका छन् भने १ दशमलव २ देखि १ दशमलव ६ जीपीए ल्याउनेको संख्या १ हजार ५१२ जना रहेका छन् ।

त्यस्तै शून्य दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याउनेको संख्या ३० जना रहेको शिक्षा विकास तथा इकाई शाखा दाङले जनाएको छ । त्यस्तै जिल्लामा आंशिक (विषयगत) तर्फबाट ९४ जनाले परीक्षामा सहभागिता जनाएका थिए ।

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गएको वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । देशैभर परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका दुई लाख ५७ हजार ९ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए ।