तुलसीपुरका प्रत्येक वडामा ‘वाकीटकी’

साउन १३, २०७९


तुलसीपुर १३ साउन ।
तुलसीपुर उपमहानगरपालिकाले विपद् प्रतिकार्य योजनाअन्तर्गत प्रत्येक वडामा सञ्चार सेट (वाकीटकी वितरण गर्ने भएको छ । विपद्को समयमा इन्टरनेट अवरुद्ध भई सुरक्षा टोलीसंग सूचना समन्वय गर्नका लागि सञ्चार सेट (वाकीटकी) वितरण गर्न थालिएको हो । त्यस्तै सूचना प्राप्त गरेर तत्काल उद्दारका लागि आपत्कालीन कार्य सञ्चालन केन्द्र, नगरप्रमुखको सचिवालयमा राख्न थालिएको हो । तयार नेपालको सहयोगमा २३ वटा सञ्चार सेट प्रदान गर्न थालिएको हो । सञ्चार सेट सम्बन्धित वडामा सञ्चार सेटबाट पाँच किलोमिटर दुरीसम्म सूचना प्रदान गर्न सकिने विपद् शाखाका प्रमुख टोपबहादुर डाँगीले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले वर्षातको समयमा आउने बाढी,पहिरो,डुबानका कारण आउने समस्या समाधानका लागि एक वटा डोजर टिप्पर २४सै घण्टा तयारी अवस्थामा राखेको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको अध्यक्षतामा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्मार्ण(मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा प्रस्तुति नगर विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

छलफलका क्रममा उपप्रमुख स्यानी चौधरी,प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल,विपद् वनवातावरण तथा सरसफाई समितिका संयोजक दुजमान भण्डारी,वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र शाह,स्वास्थ्य जनप्रवर्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानले लगायतले मस्यौदामाथि सुझाव प्रस्तुत गर्नुभएको थियो । मस्यौदाका बारेमा तयार नेपालका फिल्ड संयोजक श्रमलाल चौधरीले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन सूचना शाखाका प्रमुख बाबुराम न्यौपानेले गर्र्नुभएको थियो । साभार: लाइभ दाङ