विप्लवलाई पक्राउ गर्न पुर्जी जारी गरेकोमा एमालेको विरोध
साउन १७, सरकारले विप्लव समूहलाई कारबाही गर्ने पत्र काटेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधि सभा बैठकमा विरोध गरेको छ । बैठकको विशेष समयमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले सरकारले काटेको पत्र फिर्ता लिन आग्रह गरेका छन् । उनले एमाले सरकारले विप्लव समूह र सिके राउतलाई शान्ति प्रक्रियामा ल्याइसकेको अवस्थामा विभिन्न बाहानमा सरकारले विप्लव समूहलाई पत्र काट्ने र उनीहरूलाई फेरी त्यही बाटो रोज्न विवश बनाउन सरकार उद्धत भएको बताए ।
उनले भने–‘म प्रतिपक्षी दलको तर्फबाट सरकारलाई के भन्न चाहन्छु भने उहाँहरूलाई काटेको त्यो पत्र तत्काल फिर्ता लिन र उहाँहरूले जुन शान्तिपूर्ण रूपमा राजनीति गर्न दल दर्ता गरेर अगाडि बढ्ने जुन बाटो रोज्नु भएको छ त्यसलाई प्रोत्साहन गर्न पनि नेपाल सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । उनले हालै सकारले विप्लव समूह भनेर चिनिने नेकपा समूहलाई फेरी थप कारबाहीका लागि पत्र पठाएको सुनेको बताउँदै कुनै बेला हिंसाको बाटो रोजेको र हतियार बोकेर सशस्त्र युद्धमा होमिएको समूहलाई तत्कालीन केपी ओली नेतृत्वको नेकपा एमालेको सरकारले ३ बुँदे सम्झौता गरेर शान्तिपूर्ण बाटोमा हामीले ल्याएको स्मरण गराए ।
साथै सांसद भट्टराईले हालै गएको भूकम्पबाट खोटाङमा ४ सय ७५ वटा निजी घर चर्किएको र केही घर पूर्ण रूपमा क्षति जानकारी गराए । उनले क्षतिको विवरण टिप्ने काममा पनि ढिलाइ भएको बताए । उनले सरकारलाई उचित राहतको व्यवस्था गर्न माग गरे ।