१५ दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन

साउन २२, २०७९


काठमाडौँ, २२ साउन । 

निर्वाचन आयोगले केन्द्रीय पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण १५ दिनभित्र आयोगमा बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दलका केन्द्रीय सदस्य तथा पदाधिकारीको सम्पत्ति विवरण बुझाउन निर्देशन आयोगले निर्देशन दिएको हो । आयोगमा अहिले १ सय १६ वटा राजनीतिक दल कायम छन् । महाधिवेशन भएका र नभएका कुनै पनि दलका पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण आयोगमा नआएको आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताउनुभयो । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ ले केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।सम्बन्धित राजनीतिक दलले पेस भएको एक महिनाभित्र ती पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने ऐनमा उल्लेख छ । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि आजदेखि दल दर्तागर्दैछ ।