चोरीका मोबाइल किनबेच नगर्ने व्यवसायीहरूको प्रतिवद्वता

साउन २२, २०७९


साउन २२ साउन ।

 राप्ती गाउँपालिकाका मोबाइल व्यवसायीहरूले चोरीको सामान किनबेच नगर्ने प्रतिवद्वता जनाएका छन् । शनिबार दाङको भालुवाङमा राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको उदघाटन कार्यक्रममा बोल्ने मोबाइल व्यवसायीहरूले सो प्रतिवद्वता जनाएका हुन् । हालै पालिका स्तरीय व्यवसायी संघ गठन गरि जिल्ला प्रशासन कार्यालयमा आधिकारिक रूपमा दर्ता गरेपछि संघको विधिवत उदघाटन समेत गरिएको छ ।

संघ दर्ता सँगै राप्तीको इज्जद र कानुनको पालाना गर्न कुनै पनि हालतमा गलत क्रियाकलाप नहुने उनीहरूले बताएका छन् । संघका अध्यक्ष हरि खड्काको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, निर्वतमान वडा अध्यक्ष ताराबहादुर डिसी, राप्ती उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण शर्मा, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख तथा प्रहरी निरिक्षक सुजनविक्रम शाह, मोबाइल व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष दिपक पाण्डे, उपाध्यक्ष शालिकराम खनाल, शंकर अधिकारी, भिमसेन जिसी, भिम भुसाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका आवद्व व्यवसायीहरूलाई आजीवन सदस्य प्रमाणपत्र समेत प्रदान गरिएको थियोे । कार्यक्रमको सञ्चालन अशोक बेल्वासेले गरेका थिए ।