मेट्रो अस्पतालमा जनशक्ति र भौतिक सामग्री माग

साउन २२, २०७९


तुलसीपुर,२२ साउन ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको भीमसेन शहरी मेट्रो अस्पतालका लागि आवश्यक जनशक्ति र भौतिक पूर्वाधार माग गरिएको छ । नगरप्रमुख टीकाराम खड्काले स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी समक्ष पुगेर अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र भौतिक पूर्वाधार माग गर्नुभएको हो ।
संघीय सरकारले भौतिक संरचना निर्माण भई सञ्चालन भइरहेको अस्पतालका लागि आवश्यक जनशक्ति व्यवस्थापन नगर्दा सेवाप्रवाहमा समस्या आएको भन्दै नगरप्रमुख खड्काले उक्त अस्पताललाई जेष्ठनागरिक,महिला तथा बालबालिका विशेष अस्पतालकारुपमा सञ्चालन गर्ने नगरको योजना रहेको बताउनुभयो ।

मेट्रोमा विशेषज्ञ सेवा सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि माग गरिएको हो । त्यस्तै नगरप्रमुख खड्काले पालिकाको पर्यटकीय, धार्मिक,ऐतिहासिक स्थलहरु छिल्लीकोट,थर्कोट,जन्ती ढुङ्गा, सुकौराकोट,चमेरे गुफाको संरक्षण,संवर्धन,प्रचार,प्रचारका लागि समेत सम्बन्धित मन्त्रालयमा पुगेर योजना सम्पन्न गर्नका लागि आवश्यक बजेट माग गरिएको बताउनुभयो ।

त्यस्तै पालिकाको १९ वटै वडामा विद्युतीकरणका लागि विद्युत ,पोल,तुलसीपुर १६मा स्थापना गर्नका थालिएको औद्योगिक ग्रामका लागि आवश्यक बजेट व्यवस्थापनका लागि समेत सम्बन्धित मन्त्रालयमा माग गरिएको छ ।त्यस्तै बिजौरी,श्रीचौर हुँदै रोल्पा सडक,दोघर्रे,प्रतापकोट फलावाङ सडकको स्तरोन्नतिका लागि बजेट माग गरिएको छ । तुलसीपुर क्षेत्रको सिचाई,खानेपानीका लागि ग्वार खोला बृहत हाइड्याम निर्माणका लागि विस्तृत विवरण प्रतिवेदन तयार पारी कार्यान्वयनका लागि समेत बजेट माग गरिएको छ । नगरप्रमुख टीकाराम खड्काको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलको टोलीले विभिन्न मन्त्रालयमा पुगेर योजना कार्यान्वयनमा लागि बजेट माग गरिएको थियो ।