जहाज बिग्रिएको भन्दै टरिगाउँ विमानस्थलमा उडान कटौति

साउन २३, २०७९


साउन २३, दाङको टरिगाउँ विमानस्थलमा उडान कटौति गरिएको छ । दैनिक एउटा उडान हुने विमानस्थलमा घटाएर सातामा तीन वटा बनाइएको छ । नेपाल वायुसेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज बिग्रिएर ‘ग्राउन्डेड’ भएपछि हाल बुधबार बिहीबार र शुक्रबार मात्रै उडान हुने गरेको छ ।

जहाज ग्राउन्डेड भएकाले अहिले तीन दिन मात्रै सेवा दिने गरेका छौं, उनले भने, पहिले शुक्रबार र शनिबार बाहेक अन्य दिन सेवा दिने गरेका थियौं । यात्रुको चाप बढेपछि प्रत्येक दिन पनि भएको थियो तर अहिले घटाउनु पर्ने अवस्था आएको छ । अहिले दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम भाडा आठ हजार आठ सय १० रुपैयाँ छ भने अधिकतम १२ हजार ६ सय ६५ रहेको छ । काठमाडौँ भन्दा दाङ आउँदा भने त्यसको दुई सय बढी हुन्छ ।

अहिले विमानस्थलमा निगमको १९ सिटे टुइनअटर आउने गर्छ । ठूला जहाज आउनका लागि धावनमार्ग विस्तार गर्नुपर्छ। त्यसका लागि यस क्षेत्रमा पटक–पटक माग हुने गरेको छ। अहिले सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावन मार्ग छ। त्यसलाई बढाउन सकिएमा ठूला जहाज बस्ने र हवाई भाडा सहज हुने अपेक्षा गरिएको छ। (रासस)