आजदेखि गठबन्धनको सिट बाँडफाँट कार्यदलले काम थाल्ने

साउन २३, २०७९


साउन २३, मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । चुनावमा कहाँ कुन पार्टीबाट उठ्ने भन्ने सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले आज पहिलो बैठक गर्न लागेको छ । साउन २० मा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गरी जाने औपचारिक निर्णय गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए । सोही दिन सिट बाँडफाँटका लागि कार्यदल बनेको थियो ।

कार्यदलमा जसपाबाट सदस्य रहेका रामसहाय यादवले सोमबार अपरान्ह ३ बजे बालुवाटारमा कार्यदलको बैठक बस्ने बताए । आज कार्यदलको बैठक बस्दैछ । अब हामीले काम सुरू गर्छौं उनले भने कार्यदल बैठकमा सिट बाँडफाँटका आधारलगायत विषयमा कुराकानी हुने बताइएको छ । यो कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँटबारे टुंगो गर्न समय दिइएको छ । कार्यदलमा नेपाली कांग्रेसबाट ३ जना सदस्य छन् भने अन्य चार पार्टीबाट दुई-दुई जना सदस्य छन् । यसअघि स्थानीय चुनावमा पनि सत्ता गठबन्धनले केन्द्र, प्रदेश र स्थानीय तहमा कार्यदल बनाएर सिट बाँडफाँट गरेका थिए ।