नागरिकतामा अपमानजनक नाम नराख्न र भएकालाई सच्याउने व्यवस्था मिलाउन निर्देशन

साउन २३, २०७९


काठमाण्डौ, २३ साउन

गृह मन्त्रालयले नागरिकता प्रमाणपत्र जारी गर्दा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग नगर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले आज सोमवार विज्ञप्ति निकालेर अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको हो । यस्तै मन्त्रालयले यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

विभिन्न जिल्लामा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग हुँदा समस्या परेको खबरहरू सार्वजनिक भएपछि हिजो आइतवार संसदमा समेत यसबारेमा कुरा उठेको थियो ।