मालपोत कार्यालय तुलसीपुरमा ताला, कामकाज ठप्प

साउन २४, २०७९


तुलसीपुर, २४ साउन ।

मालपोत कार्यालय तुलसीपुरमा ताला लागेको छ । कर्मचारी आन्दोलित भएपछि कार्यालयको प्रवेशद्धारमा ताला लागेको हो । अर्थ मन्त्रालयले तलव र बढुवामा कर्मचारी माथि अत्यन्तै विभेदकारी एवं अन्यापूर्ण निर्णय गरेको भन्दै त्यसका बिरुद्धमा कामकाज छाडेर कर्मचारी आन्दोलित भएको  मालपोत कार्यालय तुलसीपुरका प्रमुख कर्ण बहादुर नेपालीले जानकारी दिनुभयो ।

राष्ट्रव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत उनिहरु क्याबी बिदा लिएर आन्दोलित भएको कार्यालय प्रमुख नेपालीले बताउनुभयो । अर्थमन्त्रालयले साउन १ गतेदेखि लागु हुनेगरी अधिकृतस्तर भन्दा माथिका राजपत्रांकित कर्मचारीलाई २५ प्रतिश र सोभन्दा मुनिका कर्मचारीलाई १५ प्रतिशत तलव बढाउने निर्णय गरेपछि कर्मचारी आन्दोलित भएका छन् ।
‘राजपत्रांकित कर्मचारीको राष्ट्रव्यापी आन्दोलनको कार्यक्रम अनुसार कामकाज रोक्ने काम रहेछ । आज जिल्ला प्रशासन कार्यालयमा पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेछ । साथीहरु त्यतातिर लाग्नुभयो । अनि कामकाज पनि रोकियो ।’ कार्यालय प्रमुख नेपालीले भन्नुभयो ।

तलव वृद्धिको निर्णयलाई फीर्ता लिए पनि बढुवाको हकमा कुरा नमिलेपछि आन्दोलन जारी रहेको कर्मचारीले बताएका छन् । सरकारले यस अघि बढुवा गर्दा कोटा अनुसार २० प्रतिशत नम्बर थप्ने गरेकोमा अहिले ३० प्रतिशतमा लैजानुपर्ने आन्दोलित कर्मचारीको माग रहेको छ । बिनाजानकारी कर्मचारी आन्दोलित भएपछि सेवाग्राहीहरु कार्यालयको ढोकासम्म पुगेर फर्किने गरेका छन् । कार्यालयमा नासु र खरदार गरेर १५ जना कर्मचारी छन् ।