दाङमा १५ जना बन्द कर्ता पक्राउ

भदौ ०७, २०७९


दाङ, ७-भदौ ।

दाङमा प्रहरीले १५ जना बन्द कर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही र तुलसीपुरबाट ४/४ जना र लमहीबाट ७ जनालाई पक्राउ परेका हुन । तुलसीपुरबाट हेमन्त वली, दिपेन्द्र वली, सञ्जय वली र सुदर्शन सेर्पाली पक्राउ परेका छन । त्यस्तै घोराहीबाट प्रकाश बुढामगर, खुमन पौडेल, टार्जन वली र हिमाल केसी पक्राउ परेका छन ।

त्यसैगरी लमहीबाट जनक बिक, शोभाराम थापा, लोक बहादुर बिक, मनोज चौधरी, अजय बुढामगर, नारायण थापा र पूर्ण बहादुर केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन कुमार गौतमले दिए । मंगलबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र बिक्रम चन्द (विप्लव), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले नेपालबन्दको आह्वान गरेका हुन ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पूर्जी जारी गरिएको, एमसीसी पास गरेको, भ्रष्टाचार बढेको र महँगी नियन्त्रणमा चासो नदिएको भन्दै बन्द गर्नु परेको उल्लेख गरिएको छ ।