रुकुममा खोलाले बगाउँदा एक बृद्ध बेपत्ता

भदौ १२, २०७९


मुसिकोट,१२ भदौ ।
आईतबार रुकुम पश्चिममा खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । सानीभेरी गाउँपालिका वडा नम्वर ३ निवासी दलबिर गुरुङ बेपत्ता हुनुभएको हो ।

जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर ५ र ६ मा पर्ने देउता खोलाले बगाउँदा उहाँ बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार अन्दाजी ७० बर्षिय गुरुङलाई खोलाले बगाएको हो । आईतबार बिहानदेखि परेको निरन्तर वर्षाको कारण देउता खोलामा पानीको बहाव बढ्दा गुरुङलाई बगाएको हो ।

खोलाले किनारमा रहेका घर र खेतमा समेत क्षति गरेको छ । स्थानीयका अनुसार काँशिराम पुनको घरमा क्षति हुनुका साथै लगायत खोला किनारमा लगाईएको धानबाली नष्ट भएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकि रहेको छ भने बेपत्ता गुरुङको खोजिकार्य भैरहेको बताइएको छ ।