यी हुन सदस्यता खारेज हुने एमालेका पाँच केन्द्रीय नेता !

काठमाडौं । नेकपा एमालेका पाँच केन्द्रीयस्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहनेगरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेखबाटै हटाइने भएको हो ।
एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले टिकट नदिएपछि एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए ।
सामाजिक सञ्जालमार्फत एमाले पार्टी परित्याग घोषणा गरेसँगै दोस्रो दिन भुसालले आसन्न प्रतिनिधिसभाका लागि रूपन्देही क्षेत्र १ बाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उम्मेदवार सिफारिस क्रममा भुसालको नाम रूपन्देही निर्वाचन क्षेत्र १ र ३ नम्बरबाट भएको थियो ।
तर, अन्तिम समयमा राप्रपासँगको चुनावी तालमेलका कारण क्षेत्र ३ मा राप्रपाका उम्मेदवार दीपक बोहरालाई सघाउने र १ नम्बरमा छविलाल विश्वकर्माको नाम उम्मेदवारमा सिफारिस भएपछि भुसालको नाम नपरेपछि पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
पूर्वमाओवादी पृष्ठभूमिका एमाले स्थायी समिति सदस्य प्रभु साहले अन्तिम समय आएर पार्टीले दिएको टिकट लत्याएर स्वतन्त्र उम्मेदवार दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अन्तिम समयसम्म आफूले पार्टीको तर्फबाटै उम्मेदवार दिने बताइरहे पनि टिकट बाँडफाँटमा आफू पक्षका नेतालाई टिकट नदिएको रिसमा साहले स्वतन्त्र उम्मेदवार दिएका हुन् ।
साहलाई रौतहट ३ बाट टिकट दिइएको थियो । उनको स्वतन्त्र उम्मेदवारी विषयलाई लिएर एमाले अध्यक्ष ओलीदेखि केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले टिप्पणी गरेका छन् ।
एमाले अध्यक्ष ओलीले अन्तिम समयमा आएर साहले पार्टीको टिकट खल्तीमा राखेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेर पार्टीलाई धोका दिएको बताएका छन् ।
‘प्रभु साहले षड्यन्त्र गर्नुभयो । ५ बजेसम्म टिकट खल्तीमा राख्नुभयो, उम्मेदवारी दिँदै छु भन्नुभयो, मसँग कुरा भएको थियो । तर, ५ बजे वारिसनामा पठाएर स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्नुभयो । यो धोका भयो, बेइमानी भयो,’ प्राइम टेलिभिजनको अन्तर्वार्तामा ओलीले भनेका छन् ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत साहलाई ‘हरिया सर्प’को संज्ञा दिँदै ‘एक दिन डस्ने भएकाले ध्यान दिनुपर्ने’ बताएका छन् ।
‘चुनावका बेला अन्तिम घडीमा टिकट नपाएका कारण पार्टी नै छाड्ने’दयगत थप कुनै टिप्पणी गरिरहन आवश्यक छैन,’ सामाजिक सञ्जाल फेसबुकमा रिजालले लेखेका छन्, ‘तर, एउटा कुरामा हामी सबैले ध्यान दिनैपर्छ– प्रभु साहजस्ता हरिया सर्पहरूले एक न एक दिन डस्छन् । आपराधिक विगत, अस्थिर चरित्र, चरम महत्वाकांक्षा, जातीय संकीर्णता, संदिग्ध क्रियाकलाप र ‘रिमोट कन्ट्रोल’बाट चल्नुपर्ने बाध्यताका कारण प्रभु साहले नेकपा (एमाले)लाई धोका दिए पनि मधेसमा नेकपा (एमाले)का पक्षमा आएको जनलहरलाई त्यसले रोक्न सक्नेछैन ।’
त्यस्तै, एमालेले केन्द्रीय सदस्य कुन्दन कुशवाहलाई रौतहट ३ ‘ख’बाट टिकट दिएको थियो । तर, अन्तिम समय आएर प्रभु साहसँगै उनले पनि स्वतन्त्र उम्मेदवार दिएका छन् ।
कुशवाहलाई पनि एमालेले पार्टी सदस्य नरहनेगरी कारबाही तयारी गरेको एमालेका एक नेताले जानकारी दिए । ‘यो पार्टीविरुद्ध धोका हो,’ ती नेताले राजधानीसँग भने, ‘अब उनीहरूलाई कारबाही विषयमा पार्टी बैठक बसेर निर्णय गर्नेछ । उनीहरूको नाम पार्टी सदस्य नहरनेगरी अभिलेखबाटै हटाइनेछ ।’
एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीविरुद्ध बागी उम्मेदवार दिएकी गंगा चौधरी सत्गौवा पनि कारबाही सूचीमा परेकी छन् । यसअघि, दुवै समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य भएका थिए । एमालेले शान्ता चौधरीलाई टिकट दिएपछि असन्तुष्ट गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।
त्यस्तै, एमालेले डोल्पाकी बदमी क्वारा बुढाको नाम पनि अभिलेखबाट हटाएको छ । उनले पनि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।