परदेशी २ र लण्डन टू पेरिस सँग भिड्ने भयो ‘फूलबारी’

कार्तिक ०३, २०७९


यस वर्षको फागुन पहिलो साता हेवीभेट कलाकारहरुको फिल्मबीच भिडन्त हुने भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा परेकाले फागुन ५ गते शुक्रवारका लागि दुई फिल्म परदेशी २ र लण्डन टू पेरिसले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अब यो मितिमा अर्को मल्टीस्टारर फिल्म ‘फूलबारी’ पनि प्रदर्शन हुने तय भएको छ ।

रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ले मंगलवार फागुन ५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, सृजना सुब्बा, शिल्पा मास्के, गौमाया गुरुङलगायतको फिल्ममा मुख्य भूमिका रहेको छ । यशोधा फिल्मस्को ब्यानरमा निर्मित फिल्मको कथा तथा कन्सेप्ट कमल किशोर मलपानीको हो भने पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् ।

कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संयुक्त संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले छायांकन गरेका हुन् । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा ‘कबड्डी’ श्रृंखलाका निर्माता मणीराम पोखरेल छन् । ‘कबड्डी ४’ को ऐतिहासिक सफलतापछि निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईबीच सहकार्य भएकाले ‘फूलबारी’ प्रतिक्षीत बनेको छ ।