यो निर्वाचन गणतन्त्रले हार्ने कि जित्ने भन्ने लडाइ हो : पूर्वमन्त्री शर्मा

कार्तिक १७, २०७९


घोराही, १७ कात्तिक ।
पूर्व मन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा यो निर्वाचन सामान्य निर्वाचन नभएर गणतन्त्रले हार्ने कि जित्ने भन्ने सवाल भएको बताउनुभएको छ ।

घोराही १३ कलमघारीमा जनभेटघाटका लागि पुग्नुभएका प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं. २ का गठबन्धनका साझा उम्मेदवार समेत रहनुभएकी शर्माले संविधान मास्ने प्रतिगामी शक्तिहरू बिरूद्ध अहिलेको गठबन्धन भएको बताउनुभयो । ‘एमाले, राप्रपा लगायतका दलहरूको गठबन्धन पनि तयार भएको छ, त्यो गठबन्धन अहिलेका उपलब्धिका बिरूद्ध,’ उहाँले भन्नुभयो, ‘राजनीतिक स्थायित्व सहितको समृद्ध मुलुक निर्माण गर्न काङ्ग्रेस, माओवादी, एकीकृत समाजवादी लगायका दलहरूको नेतृत्वमा गठबन्धन तयार भएको छ ।’

समृद्ध र स्थायित्व आम जनताको चाहना भएकाले त्यो प्राप्तिका लागि गठबन्धनलाई मतदान गर्ने विश्वास गर्नुभयो । शर्माले एमालेका इमान्दार नेता कार्यकर्ताले पनि गठबन्धनलाई मतदान गर्ने बताउनुभएको छ । केपी ओली समूहको गुटले पार्टी कब्जा गरेपछि एमाले भित्रका पुराना, इमान्दार र लगनशील कार्यकर्ताहरूमाथि निषेध गर्न थालिएको उहाँको भनाई छ ।

‘अहिले एमाले भित्रका सच्चा नेता कार्यकर्ता पाखा लाग्ने र नवप्रवेशीहरूले अवसर पाउने सृजना भएको छ,’ शर्माले भन्नुभयो, ‘केपी गुटले चुनाव जितेको खण्डमा एमाले भित्रका इमान्दार नेता तथा कार्यकर्ताहरूलाई अझ धेरै पाखा लगाउने काम हुनेछ,आफ्नो राजनीतिक भविष्यका लागि भए पनि उनीहरूले हामीलाई मतदान गर्ने छन् ।’

निर्वाचनमा एमालेले प्रत्यक्षमा ८/१० सिट भन्दा बढी जित हासिल गर्न नसक्ने उहाँले ठोकुवा गर्नुभयो । पूर्वमन्त्री शर्माले दाङको समृद्धिका लागि गठबन्धनसँग स्पष्ट योजना भएको समेत बताउनुभयो ।

प्रदेशसभा दाङ २ (१) का गठबन्धनका साझा उम्मेदवार राजु खनालले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन निर्माण भएको बताउनुभयो । उहाँले मंसिर ४ पछि पनि एमाले पाँचै वर्ष सरकार बाहिर रहने दावी गर्नुभयो ।