मावि सेन्टर आइटीमा नेपालमै उत्कृष्ट

कार्तिक १९, २०७९


तुलसीपुर, १९ कार्तिक ।

सूचना प्रविधि टिप्लोमा तहमा माध्यामिक विद्यालय तुलसीपुर सेन्टर नेपालमै उत्कृट भएको छ ।  सीटीभीटी अन्तर्गत सञ्चालित सूचना प्रविधि डिप्लोमा तहको छैटौँ  सेमेस्टरको परीक्षामा नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिनुभयो ।
कम्प्युटर र सूचना प्रविधि अन्तर्गत देशभरका ३३ वटा विद्यालयलाई  उछिन्दै मावि सेन्टर नेपालकै उत्कृष्ट भएको हो । विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा शतप्रतिशत उत्तीर्ण भएका छन् ।

यससँगै २०७५ सालमा भर्ना भएका सबै विद्यार्थीहरू डिप्लोमा तह उत्तीर्ण भएका छन् । मावि सेन्टरले आईटी डिप्लोमा विषयमा स्थापना कालदेखि नै नेपालमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । प्राविधिक धारको हवको रुपमा रहेको मावि सेन्टरमा सर्वे इन्जिनियरिङमा डिप्लोमा, आईटी इन्जिनियरिङमा डिप्लोमा, इलेक्ट्रिक इन्जिनियरिङमा कक्षा ९ देखि १२ तथा आईटी र इलेक्ट्रिकल विषयमा २४ महिने निशुल्क औद्योगिक प्रशिक्षण तालिम सञ्चालन भइरहेको छ प्रअ पौडेलले बताउनुभयो ।

२०६६ सालामा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएका प्रअ पौडेलले जीर्ण स्कुलको भौतिक संरचना निर्माणसंगै शैक्षिक क्षेत्रमा तिव्र विकास गर्नुभएको छ ।  शैक्षिक क्षेत्रमा देखिएको उल्लेखनीय सुधारले पछिल्ला दिनहरूमा मावि सेन्टरले अभिभावकको मन जित्न सफल भएको छ ।  भौतिक र शैक्षिक विकासले मेघा विद्यालयको सूचीमा रहेको यस विद्यालयमा २२ सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।