दाङमा पाँच हजार सुरक्षाकर्मी परिचालन गरिने

कार्तिक २०, २०७९


तुलसीपुर, २० कात्तिक।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि दाङमा पाँच हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जिल्लामा निर्वाचनलाई लक्षित गरेर ३५ सय नेपाल प्रहरी, १९ सय म्यादी प्रहरी र बाँकी नेपाली सेना र शसस्त्र गरी पाँच हजार सुरक्षाकर्मी परिचालन भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य अवस्थाका मतदानस्थलको पहिचान गरिएको छ ।

निर्वाचनमा सुरक्षा थ्रेटको समेत आन्तरिकरुपमा विश्लेषण गरेर सुरक्षा अवस्थालाई चुस्त बनाउने काम भएको प्रजिअ रेग्मीले जानकारी दिए । तीन तहको घेरामा निर्वाचन सुरक्षा हुनेछ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने व्यवस्था गरिएको छ । निर्वाचनमा खटिने कर्मचारीसँगै सुरक्षाकर्मी पनि मतदान स्थलको सुरक्षाको लागि खटिनेछन् । त्यसैगरी निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको छ । कुनै पनि पक्ष र विपक्षमा नलाग्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने भएको छ ।

यसैबीच दाङ क्षेत्र नं. १ मा एक सय ५२ मतदान केन्द्र छन् । जहाँ करिब एक हजार दुई सय १६ कर्मचारी खटिनेछन् । क्षेत्र नं. २ मा एक सय ४५ मतदान केन्द्रमा एक हजार एक सय ६० कर्मचारी खटिने भएका छन् । क्षेत्र नं.३ मा एक सय ६८ मतदान केन्द्र छन् भने त्यहाँ करिब एक हजार तीन सय ४४ कर्मचारी खटाउने तयारी छ । मतदाता संख्याको आधारमा कर्मचारी खटाईने भएको छ । यसपालिको निर्वाचनमा दाङमा चार लाख १४ हजार नौ सय ५६ मतदाताले निर्वाचनमा भाग लिदैछन् । दाङ निर्वाचन क्षेत्र नं। १ मा एक लाख ३४ हजार सातसय ३३ मतदाता छन् । क्षेत्र नं। २ मा एक लाख ३३ हजार सात सय ४८ मतदाता छन् । र क्षेत्र नं. ३ मा एक लाख ४६ हजार चार सय ७५ मतदाता छन् । जिल्लामा ९० जना उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लामा कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म मतदाता शिक्षा सञ्चालन हुनेछ ।