बँदेललाइ थापेको पासोमा परेर शरद–रोशनीको मृत्यु : प्रहरी

कार्तिक २१, २०७९


तुलसीपुर  २० कार्तिक ।

बँदेल मार्नका लागि थापेको पासोमा परेर शरद– र रोशनीको मृत्यु भएको प्रहरीले दाबी गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा गरिएको पत्रकार सम्मलेनमा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बीरबहादुर वलीले बँदेल मार्नका लागि थापेको विद्युतीय पासोमा परेर दुवैजनाको मृत्यु भएको बताउनुभयो ।
विद्युतीय पासो थाप्ने तुलसीपुर १३ निवासी ३९ बर्षीय गणेश भन्ने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बूढा र ४७ वर्षीय प्रकाश भन्ने अम्मर राज कार्कीलाई प्रहरीले  सार्वजनिक गरेको छ ।

गएको असोज २७ गते घरबाट हराएका तुलसीपुर उपमहानगरपालिका – १३ डाँडागाउँ स्थित १५ बर्षीया रोशनी महतारा र दंगीशरण गाउँपालिका– ६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँ स्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्य असोज ३० गते जनकल्याण सामुदायिक वनको जङ्गलमा एउटै खाल्डोमा मृत भेटिएका थिए ।  असोज २७ गते राति १० बजेतिर गणेश भन्ने हरिष चन्द्र पौडेलको घरबाट विद्युत लिएर नजिकैको जंगलमा बदेल मार्नकालागि पासो थापेको र त्यही पासोमा परेर उनीहरूको राति नै मृत्यु भएको प्रहरीले बताएको छ । पासो थापेका अमरराज कार्की र गणेश भन्ने हरिश चन्द्र पौडेल असोज २८ गते बिहान साढे ५ बजेतिर हेर्न जाँदा दुबै जना मृत अवस्थामा फेला पारेका थिए ।

प्रहरीका अनुसार दुवैजनाको मृत्यु भएपछि अपराध लुकाउन चारैजना मिलेर जङ्गलको खोल्सामा लगेर गाडेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।  घटना लुकाउन उनीहरूसँग भएका मोबाइल र चप्पललाई समेत जङ्गलको झाडीमा लुकाई छिपाई राखिएको थियो ।   पक्राउ परेका चारजनाले लुकाई छिपाई राखेको अवस्थामा करेन्ट लगाउन प्रयोग भएको विजुलीको वाइरिङ तार ७६ मिटर १ इन्च, साना ७ वटा बाँस, फलामको वाइरिङ तार, किल्ला खन्न प्रयोग भएको फोरुवा १ थान, शव बोक्न प्रयोग भएको कुखुराको दाना राख्ने बोरा बरामद भएको प्रहरीले बताएको छ । बोरा जलेर नष्ट भएको अवस्थामा भेटिएको थियो । उनीहरु चारैजनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको छ । 

टिप्पर चालकहरु निर्दोश देखिए
पक्राउ परेका टिप्पर चालकबाट घटनाको नजिक पुगेको प्रहरीले भने उनिहरुलाई सार्वजनिक गरेन ।  ति टिप्पर चालककै बयानका आधारमा थप अर्का ब्यक्ती पनि पक्राउ परे । तर, ति दुबै जना निर्दोष देखिए । प्रहरीका अनुसार एक टप्पर चालकले आफूले हत्या गरेको स्वीकार गरेका थिए । तर, अनुसन्धान गर्दै जाँदा उनीहरु दुबैजनाले हत्या गरेको पुष्टि भएन । प्रहरीले पोष्टमार्टम रिपोर्टलगायतका अन्य रिपोर्ट र विज्ञको अनुसन्धानबाट निर्दोष देखिए । उनीहरु निर्दोष देखिएपनि प्रहरीको हिरासतमै छ । उनीहरुलाई अन्य विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।

यो विषयमा अनुसन्धान लुम्बिनी प्रदेश प्रहरी, जिल्ला प्रहरी तथा इप्रका तुलसीपुरको अनुसन्धान टोली खटिएको थियो, भने काठमाडौंबाट विज्ञ टोली तथा कोहलपुरबाट कुकुर समेत ल्याईएको थियो । उनीहरु दुवैजनाको पोष्टमार्टम पछि एकै स्थानमा बबईमा अन्त्येष्टी गरिएको थियो । घटनाको वास्तविकता पत्ता लगाउने प्रहरीले ७० जनालाई प्रत्यक्ष र  टेलिफोन माफर्त ४७८ जनासंग सोधपुछ गरेको थियो । स्थानीय गाँउलेले केटी चिच्याएकाे आधारमा खाेज्दै जाँदा दुवैजनाकाे शव भेटिएकाे थियाे ।