दाङमा १४१ कैदीबन्दीले मताधिकार प्रयोग गर्न पाउने

कार्तिक २३, २०७९


तुलसीपुर २३ कार्तिक ।

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा दाङका १ सय ४१ जना कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

जिल्लामा १ सय ४१ कैदीबन्दीले मतदान गर्ने छन् । जसमा घोराही कारागारका ५० र तुलसीपुर कारागारका ९१ कैदीबन्दीले मतदान गर्नेछन् । १ हजार ६ सय ५६ कर्मचारीले अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने निर्वाचन अधिकृत कार्कीले बताए ।

जिल्लामा तीनवटा अस्थायी मतदान केन्द्र स्थापना गरेर उक्त मतदान केन्द्रबाट कैदीबन्दीलाई मतदान गर्ने व्यबस्था गरिएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताए । कोही पनि मतदाता अधिकारबाट बञ्चित नहोस् भनेर कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएकोे उनले बताए ।

सुरक्षाकर्मी, कैदीबन्दी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन् । अस्थायी मतदान केन्द्रमा चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउने व्यबस्था रहेको छ । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र कर्मचारीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

अस्थायी मतदान केन्द्रमा चार कर्मचारी खटिने जनाइएको छ । जिल्लाभर एक सय ५३ मतदानस्थल र चार सय ६५ मतदान केन्द्र छन् । निर्वाचनको मिति नजिकिएसँगै प्रदेश निर्वाचन कार्यालयले तयारी तीव्र बनाएको छ । मतपत्र र निर्वाचन सामग्री जिल्ला आइसकेका छन् । यसका साथै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रचार–प्रसारलाई तिव्र बनाएका छन् ।

प्रतिनिधि र प्रदेशसभाका लागि तीन निर्वाचन क्षेत्र रहेको दाङमा ८९ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधि सभाका तीन सदस्यका लागि ४३ उम्मेदवार बिचमा प्रतिस्पर्धा रहेको छ । प्रदेशसभाका ६ सदस्यका लागि ४६ जनाको प्रतिस्प्रर्धा रहेको छ । १७जना स्वतन्त्र उम्मेदवार प्रतिप्रर्धामा रहेका छन् । जिल्लामा चार लाख १४ हजार ९ सय ५६ मतदाता रहेका छन् ।